उतार-चढावका बीच बढ्यो बजारः कारोबार भने खुम्चिदै, किन बन्दै छ जोखिम ?

काठमाडौँ । दुई दिन लगातार राताम्य भएपछि आज बजारमा सुधार देखिएको भए पनि लगानीकर्ताका लागि उतार-चढावको जोखिम भने कायमै रह्यो । बजार बढ्ने आशामा लगानी गर्ने धेरै लगानीकर्ताले अचानक आउने अस्थिरतामा आफ्नो लगानी जोखिममा पर्न सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् ।
केही दिन अघि शेयर बजारमा निरन्तर सुधार देखिनुका साथै दैनिक कारोबार ९ अर्ब रुपैयाँभन्दा बढी पुगेको थियो । तर पछिल्ला दिन कारोबारको परिमाण पनि घटेको छ।
विशेषज्ञ र लगानीकर्ताहरूले हालको उतार–चढावलाई माफिया र ठूला लगानीकर्ताहरूको चलखेलसँग जोडेर पनि व्याख्या गरेका छन्। राजनीतिक अस्थिरता अझै कायम रहँदा, तोकिएको समयमा निर्वाचन हुने कि नहुने अन्यौलले लगानीकर्तामा जोखिम उठाउने डर बढाएको छ।
नेपाल धितोपत्र बोर्डमा पनि कर्मचारी आन्दोलन र अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा मागका कारण निरन्तर भाडभैलो देखिएको छ। नियामक निकायको कामकाजमा अवरोध आउँदा लगानीकर्ताको विश्वास र बजारको मनोबलमा नकारात्मक प्रभाव परेको विश्लेषकहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१७ अकंले बढेर २६०७.४२ बिन्दुमा कायम भएको छ । आज३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन, ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्यमा भने स्थिर देखिएको छ ।













