सडकदेखि मतपत्रसम्मः जेनजी आन्दोलन र नेपालको आगामी चुनाव

काठमाडौं । कात्तिक २६ गते नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस) ले ललितपुरको हात्तिवनस्थित नाइस सेमिनार हलमा “सडकदेखि मतपत्रसम्मः जेन जीआन्दोलन र नेपालको आगामी चुनाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नाइसका कार्यक्रम संयोजक विवेक ध्वज थापाले हालैको जेन जीआन्दोलन र त्यसले नेपालको राजनीतिक परिदृश्यमा पर्ने प्रभावबारे आफ्ना विचार व्यक्त गरे। उनले जेनजी आन्दोलनपछि नेपाल एक ऐतिहासिक निर्वाचनतर्फ अघि बढिरहेको बताए। युवा आवाजहरूको उदयलाई जोड दिंदै उनले जेनजीको उदयले राजनीतिक सहभागिता र नेतृत्वमा रूपान्तरणको संकेत दिएको बताए।
जेनजी अभियन्ता तनुजा पाण्डेका अनुसार नेपालको जेन जेड साझा कारणका लागि एकताबद्ध छन् तर फरक राजनीतिक विचारधाराहरू अझै पनि विद्यमान छन्। उनले आन्दोलनलाई प्रणालीगत असफलताप्रति उत्पन्न भएको निराशाबाट प्रेरित भएको बताइन्। जेनजीले यस्तो “उन्नत लोकतन्त्र” चाहन्छ जहाँ न्याय सबैका लागि सुलभ होस्, असमानतालाई सामान्य नठानियोस् र राजनीतिक प्रणाली साँच्चै जनताको सेवामा केन्द्रित होस्। जेनजी सेप्टेम्बर ८ भन्दा धेरै अघिदेखि नै सडकमा सक्रिय छन् र सधैं रचनात्मक विरोधका तरिकाहरू अपनाउँदै आएका छन् — जस्तै रूख अँगालो हाल्ने, किताब पढ्ने जस्ता विरोधका शैलीहरू।
त्यस्तै अर्का जेनजी अभियान्ता अर्नब चौधरीका अनुसार नेपालमा पुस्तान्तरणीय संवाद अझै सीमित छ। उनले जेनजीलाई विशेषाधिकार प्राप्त र संघर्षबाट टाढा भएको रूपमा चित्रण गर्ने साँघुरो कथालाई प्रश्न गरे। उनीहरू गृहयुद्ध र त्यसपछिका विभिन्न आन्दोलनहरूको बीचमा हुर्केका हुन्। उनले प्रविधि र अवसरमा क्षेत्रीय असमानता रहेको औंल्याउँदै यी भिन्नताहरूका बाबजुद पनि नेपालभरिका जेनजीहरूमा भ्रष्टाचार, खराब शासन र अलोकतान्त्रिक अभ्यासप्रति साझा चिन्ता छ। उनले राज्यद्वारा प्रायोजित हिंसाको निन्दा गर्दै जेनजीले लोकतन्त्र वा संघीयतामा नभई प्रणालीका कमजोरीहरूमा विश्वास गुमाएको बताए।

नेपालस्थित पालिसी इन्ट्रप्रेनर्स इन्क (पिइआइ) का निर्देशक अनुराग आचार्यले २००६ को आन्दोलनलाई सम्झाउँदै त्यसलाई जेनजी आन्दोलनसँग तुलना गरे। उनका अुनसार त्यो बेला राजनीतिक नेताहरू र नागरिक समाजले समर्थन गरेका थिए तर अहिलेको आन्दोलन भने पूर्ण रूपमा युवा विद्यार्थीहरूले नेतृत्व गरेका छन्। विगतका बलिदानहरूले अपेक्षित परिवर्तन ल्याउन नसकेको निराशा व्यक्त गर्दै उनले जेनजी पुस्ता अघिल्ला पुस्ताहरूभन्दा फरक भएको र पर्खिन नचाएको बताए।
प्रश्न–उत्तर सत्रमा अर्नब चौधरीले देशभर छरिएका जेनजी समूहलाई विभाजित छन् भन्ने गलत भाष्य बनाउन खोजेको बताए। जेनजी पुस्ता विभाजनमा नभई नेटवक्र्ड ढाँचामा काम गरिरहेको उनले बताए। आफ्नो विरुद्ध चलाइएका गलत र भ्रामक सूचना अभियानको प्रतिवाद किन नगरेको भन्ने प्रश्नमा जवाफ दिंदै तनुजाले अन्य विषयहरूमा ध्यान दिनेभन्दा न्यायका लागि आवाज उठाउने र आन्दोलनको भावना जिउँदो राख्नु नै बढी महत्वपूर्ण भएको बताइन्।
आचार्यले बंगलादेशको युवाले नेतृत्व गरेको जुलाई चार्टरबारे प्रकाश पार्दै बंगलादेश र नेपालको क्रान्तिपछिको अवस्थाबीचका समानता र भिन्नताहरू औंल्याए। उनले बंगलादेशका युवाहरूले राज्यको कार्यकारी अधिकार सीमित गर्न माग गरिरहेको सन्दर्भमा नेपालका जेनजीको धारणा के हो भन्ने प्रश्न उठाए। कार्यक्रममा अनुसन्धानकर्ता र शिक्षाविद्हरू, विश्वविद्यालयका विद्यार्थीहरू, पूर्व तथा हालका कूटनीतिज्ञहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।













