विद्यार्थीले कलेजमै साइबर सुरक्षा, एआई र डेटा साइन्स पढ्न पाउने

३ जेष्ठ २०८३, आईतवार ०७:३६

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई लक्षित गर्दै टेकपाइला इनोभेसनले बेलायतको एनसीसी एजुकेशन यूकेसँग रणनीतिक सहकार्य गरेको छ। सहकार्यसँगै अब नेपालका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नै कलेजबाट अन्तर्राष्ट्रिय स्तरका साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा साइन्ससम्बन्धी पाठ्यक्रम अध्ययन गर्न सक्ने भएका छन्।

कम्पनीका अनुसार यो कार्यक्रम विद्यालय तथा कलेजलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी शून्य लागतमा सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत दक्ष प्रशिक्षक, आधुनिक सिकाइ व्यवस्थापन प्रणाली तथा आवश्यक प्राविधिक सहयोग टेकपाइलाले नै उपलब्ध गराउने जनाएको छ। यसबाट आर्थिक वा पूर्वाधारगत सीमितताका कारण आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर तथा प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले नेपालको आईटी क्षेत्र तीव्र गतिमा विस्तार भइरहे पनि दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको बताएका छन्। उनले आईटी क्षेत्र वार्षिक रूपमा २० देखि २५ प्रतिशतसम्म विस्तार भइरहे पनि अधिकांश कम्पनीहरूले आवश्यक दक्ष जनशक्ति पाउन नसकेको तथ्य प्रस्तुत गरेका छन्।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनका अनुसार पछिल्ला वर्षहरूमा नेपालको आईटी तथा एआई सेवा क्षेत्र उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ। उनले सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १४० अर्ब पुगेको बताए।

त्यसैगरी नेपाल टेलिकमका निर्देशक डा. शालिग्राम पराजुलीले सूचना प्रविधिको विकासका लागि नीति, पूर्वाधार र मानव संसाधन विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले रोजगारी, सुशासन र समृद्धिजस्ता लक्ष्य हासिल गर्न आधुनिक आईटी तथा एआई उपकरण प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन्।

यस्तै हिसानका महासचिव रामहरि सिलवालले यो पहलले युवालाई प्रविधिको प्रयोगकर्तामात्र नभई सिर्जनशील जनशक्ति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा डीजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमै विश्वस्तरीय आईटी सेवा तथा उत्पादन विकास गर्ने आधार निर्माणमा यस्तो सहकार्य महत्त्वपूर्ण हुने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*