पुँजी बजारमा हरियालीः परिसूचक २६ सय पुग्दा कारोबार ६ अर्ब, मार्केट लयमा फर्किएको हो ?

७ मंसिर २०८२, आईतवार १५:०५

काठमाडौँ । पछिल्लो समय लगातार खुम्चिँदै आएको शेयर बजार आज उल्लेखनीय सुधार देखाएको छ । सुस्त गतिमा रहेको बजार आइतबार दोहोरो अंकले वृद्धि भएको हो ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेका बेला बजारमा लगानी उत्साह बढेको विश्लेषकहरूले बताएका छन् । लाभांश सिजनले शेयर बजारलाई सकारात्मक ऊर्जा प्रदान गरेको देखिएको छ ।

सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ । नियामक निकाय पनि पुँजी बजारको सुधार र व्यवस्थापनमा गम्भीर रहेको हुँदा नीतिगत स्तरमा व्यापक सुधारको अपेक्षा गरिएको छ । यता, बैंकको ब्याजदर निरन्तर घटिरहेको छ, जसले बजारमा लगानीयोग्य वातावरण सिर्जना गरेको छ ।

तर, अझै राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर र बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले नकारात्मक संकेत दिएर लगानीकर्तामा जोखिम उठाउने डर बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई समेत सतर्क बनाएको छ । विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.८४ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५७ प्रतिशतले शेयर मूल्य बढेको छ।

आइतबार २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*