निर्जीवन बीमा कम्पनीहरुको लगानी करिब ६५ अर्ब, सिद्धार्थ प्रिमियर र सलिकोबीच तीव्र प्रतिस्पर्धा

१९ मंसिर २०८२, शुक्रबार ११:४१

काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६४ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन् ।

नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी लगानी रहेको छ । समीक्षा अवधिमा कम्पनीको विभिन्न क्षेत्रमा कुल सात अर्ब ६० करोड तीन लाख रुपैयाँ लगानी रहेको छ । कम्पनीले शिक्षा, बैकिङ तथा पूर्वाधार लगायतका विषयमा लगानी विस्तार बढाउँदै गएको छ ।

लगानी विस्तारको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको विभिन्न क्षेत्रमा कुल सात अर्ब १५ करोड २१ लाख रुपैयाँ लगानी रहेको छ । साथै, विभिन्न लगानीका क्षेत्रमा नेको इन्स्योरेन्सको पाँच अर्ब ५९ करोड ६३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको पाँच अर्ब ७० करोड ७६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको पाँच अर्ब ६ करोड ३१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको चार अर्ब ९८ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको चार अर्ब ७० करोड १५ लाख लगानी रहेको छ ।

साथै, चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चार अर्ब ८० करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको तीन अर्ब ८८ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको तीन अर्ब ७४ करोड १२ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको तीन अर्ब २६ करोड ३२ लाख रुपैयाँ लगानी रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये द ओरियण्टल इन्स्योरेन्सको तीन अर्ब १३ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सको तीन अर्ब ६ करोड ४९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको एक अर्ब १८ करोड ४४ लाख रुपैयाँ विभिन्न सेक्टरमा लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणको अनुमतिमा निर्जीवन बीमा कम्पनीहरुले शिक्षा तथा पूर्वाधार विकासमा लगानी गरिरहेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा ४७ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा पाँच अर्ब १६ करोड दुई लाख रुपैयाँ, सरकारी बचतपत्र तथा ऋणपत्रमा ५२ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा दुई अर्ब ७७ करोड सात लाख रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा दुई अर्ब १५ करोड ३६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १४ करोड २१ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको शेयरमा एक करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*