डुब्दै शेयर बजारको लगानीः ६ दिन मार्केट ओरालो लाग्दा हैरानीमा लगानीकर्ता, अझै किन राताम्य ?

२२ मंसिर २०८२, सोमबार १५:०६

काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार खुम्चिँदै गएपछि लगानीकर्ता चिन्तित बनेका छन् । बजार लामो समयदेखि २५ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर अवस्थामा घुमिरहेकाले धेरैले गरेको लगानी ‘बालुवामा पानी’ जस्तै भएको महसुस गरिरहेका छन् ।

हाल बजार अझै अनिश्चित बाटोमा अघि बढिरहेको छ । केही कम्पनीले भर्खरै आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत भएका शेयर मात्रै सर्किट लागेका छन् भने अन्य कम्पनीका शेयर मूल्य स्थिर रहेका छन् । लामो समय एउटै मूल्यको आसपास मात्रै घुम्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरे पनि बजारमा उल्लेख्य सुधार देखिएको छैन । जेनजी आन्दोलनपछि गठन भएको सरकारले पुँजी बजार सुधारका लागि समिति गठन गरेको थियो । समितिले दिएको सुझाव अनुसार राष्ट्र बैंकले केही नीतिगत निर्णय ल्याएको भए पनि समिक्षामा ठूला परिवर्तन देखिएका छैनन् । लगानीकर्ताले बैंकमार्फत शेयर खरिद गर्दा लाग्ने कर्जामा कडाइ हटाउनुपर्ने, र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र मार्जिन कर्जा दिने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए । यी माग पूरा नभएकाले बजार केही सुस्त रहेको विश्लेषकहरूले बताएका छन् ।

बजारमा अस्थिरता अझै कायम छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर, र बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजार अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन् । पछिल्ला गतिविधिले देखाएको छ कि बजार अस्थिर बाटोमा अघि बढिरहेको छ र लगानीकर्ता शेयर बजारबाट बाहिरिन खोजिरहेका छन् ।

हाल नीति र नियामक निकायहरू सकारात्मक देखिए पनि बजार सुधारमा सफलता पाएको छैन । नेपाल राष्ट्र बैंकले केही नीतिमा सुधार ल्याएको छ भने धितोपत्र बोर्ड लगानीमैत्री हुँदै अघि बढिरहेको छ । सरकार र सम्बन्धित निकायहरू सकारात्मक रहे पनि बजार निरन्तर खुम्चिँदै गएको छ ।

लगानीकर्ताको मनोबल कमजोर हुनु बजार खुम्चिने मुख्य कारण बनेको छ । बैंकको ब्याजदर भने शेयर बजारको प्रतिकूल पक्ष बनेको छ । पछिल्ला केही वर्ष बैंकको ब्याजदर घट्दै गएको भए पनि यसले लगानीकर्तामा उत्साह सिर्जना गर्न सकेको छैन । सामान्यतया लाभांश सिजनमा शेयर बजारले उचाई कायम गर्छ, तर यस वर्ष भने लाभांश सिजनमा नै भारी गिरावट देखिएको छ ।

नीति र नियामक निकायहरू सकारात्मक रहे पनि शेयर बजारले सही लय लिन सकेको छैन । लगानीकर्तामा असन्तुष्टि बढिरहेको छ र बजार अस्थिरताले अझै निरन्तर असर पार्ने अवस्था देखिएको छ । अहिले शेयर बजारमा लगानी गर्नेहरू तनावमा रहेका छन्, र बजारको दीर्घकालीन सुधार अझै अनिश्चित देखिन्छ ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.०२ अकंले घटेर २६०६.६७ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, इन्भेष्टमेन्ट र म्युचुअल फण्डको शेयर मूल्य घटेको छ ।

सोमबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर आज स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*