अस्थिर यात्रामा पुँजी बजारः लगानी बालुवामा पानी, किन निरन्तर खुम्चिदै छ मार्केट ?

काठमाडौँ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार ओरालो लाग्दा लगानीकर्ता चिन्तित बनेका छन् । हिजो सामान्य अकंले बढेको बजार आज फेरी घटेको छ । बजार लामो समयदेखि २६ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर आएको छ । लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको छ ।
शेयर बजारमा सुधारका लागि भइरहेको हरेक कदम असफल हुदै गएको छन् । अर्थमन्त्री नियुक्ति भएसँगै रामेश्वर खनालले शेयर बजार सुधारका लागि विभिन्न रणनीति चालेपनि सफल हुन सकेको छैन । बजार निरन्तर अस्थिरताको बाटोमा अघि बढी रहेको हो । केही कम्पनीका नयाँ आईपीओ निष्कासनपछि सूचीकृत शेयर मात्र सर्किट लागेको छ भने अन्य कम्पनीका शेयर मूल्य स्थिर छन् । लामो समय एउटै मूल्यको आसपास घुम्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ । बजार अझै अनिश्चित र अस्थिर बाटोमा अघि बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको भए पनि बजारमा उल्लेख्य सुधार देखिएको छैन । जेनजी आन्दोलनपछि सरकारले पुँजी बजार सुधारका लागि समिति गठन गरेको थियो । समितिका सुझावअनुसार केही नीतिगत निर्णय ल्याइए पनि लगानीकर्ताका माग जस्तै मार्जिन कर्जामा कडाइ हटाउने र कोर क्यापिटलको ४० प्रतिशत सीमा खारेज गर्ने पूरा भएका छैनन् ।
बजार अस्थिरतामा राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर र बैंक तथा वित्तीय संस्थाको त्रैमासिक विवरणले समेत प्रभाव पारेको छ । धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजार अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गरिरहेका छन् ।
नीति र नियामक निकायहरू सकारात्मक भए पनि बजार सुधारमा सफलता पाउन सकेको छैन । लाभांश सिजनमा पनि शेयर बजारमा गिरावट देखिएको छ । बैंकको ब्याजदर कम भए पनि यसले लगानीकर्तामा उत्साह सिर्जना गर्न सकेको छैन । लगानीकर्ताको असन्तुष्टि बढ्दै गएसँगै बजारको दीर्घकालीन सुधार अझै अनिश्चित देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८६ अकंले घटेर २६०६.२० बिन्दुमा कायम भएको छ । ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएको छ । आज म्युचुअल फण्डको शेयर मूल्य मात्रै बढेको हो । बुधबार वाणिज्य बैंकको ०.०५ प्रतिशत, विकास बैंक समूूहको ०.२९ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको हो । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।














