आईपीओमा विभेद र भ्रष्टाचारको आरोपसहित जेन-जी सेबोनमा

२४ मंसिर २०८२, बुधबार १५:३०

काठमाडौँ ।  नेपाल धितोपत्र बजारमा देखिएको अनियमितता, भ्रष्टाचार र आईपीओ निष्कासनमा विभेद भएको आरोप उठाउँदै ‘जेन–जी’ समूहका आन्दोलनकारीहरू बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बिहान १० बजे प्रदर्शन गर्ने घोषणा गरे पनि उनीहरू दिउँसो करिब १ बजे मात्र बोर्ड कार्यालयमा पुगेका हुन् ।

बोर्ड परिसरमा पुगेपछि आन्दोलनकारी टोलीले कार्यकारी निर्देशकसँग भेटवार्ता गरेको थियो। सो क्रममा २८ बुंदे मागबारे विस्तृत कुरा राख्दै धितोपत्र बजारको नियमन, आईपीओ वितरणमा देखिएको अन्याय र बजारमा क्रियाशील अनियमित अभ्यासप्रति प्रश्न उठाए । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ संचालक समितिको बैठक सकेर बाहिरिएपछि प्रतिनिधिमण्डलले औपचारिक रूपमा बोर्ड कार्यालय प्रवेश गरेको पनि बताइएको छ।

आन्दोलनकारी आउने सूचना पाएसँगै बिहानैदेखि सेबोन गेटमा प्रहरी परिचालन गरिएको थियो। भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखेर बाक्लो प्रहरी उपस्थिति राखिएको भए पनि बोर्डका दैनिकी गतिविधि भने सामान्यरूपमै सञ्चालन गरिएको अधिकारीहरूले बताए।

आन्दोलनकारीहरूले सेबोन नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष श्रेष्ठको राजीनामा, आईपीओ निष्कासन प्रक्रियामा पूर्ण पारदर्शिता, खुद्रा लगानीकर्ताको हित संरक्षण, अनियमित दलाली नियन्त्रण तथा नियमनकारी संरचनाको व्यापक पुनर्समीक्षाका माग अघि सारेका छन्।

छलफल सकारात्मक भएको भन्दै अब बोर्डले मागहरूबारे औपचारिक निर्णय र स्पष्ट जवाफ सार्वजनिक गर्ने तयारी थालेको आन्दोलनकारी पक्षको दाबी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*