डोटीको चुनावि माहोलः मैदानमा २९ वर्षे युवादेखि ६९ वर्षे बुढासम्म, कस्को पल्ला भारी ?

दिपक विष्ट/राजन कठायत
१२ माघ २०८२, सोमबार १८:२७

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा डोटीमा चुनावी माहोल तातिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ९ दलका उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेकपा एमालेबाट दिपक धामी, नेपाली कांग्रेसबाट भरत खड्का, नेपाली कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडक अग्रवाल, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही, राष्ट्रिय जनमोर्चाबाट मणिराम भट्ट, मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश कठायतले चुनावी मैदामा उत्रिएका हुन् ।

डोटीमा चुनावी प्रतिस्पर्धा विशेषगरी दुई पक्षबीच केन्द्रित भएको देखिन्छ । एकतर्फ कांग्रेस र एमालेको पारंपरिक प्रतिस्पर्धा, अर्कोतर्फ नयाँ राजनीतिक आन्दोलन र नयाँ नेतृत्वको खोजीले सिर्जना गरेको माहोलले चुनावलाई नयाँ स्वरूप दिएको छ । २०७९ को निर्वाचनमा पार्टीहरूबीचको तालमेल र गठबन्धनमा आएको परिवर्तनले अहिलेको डोटीको चुनावमा अझै अनिश्चित बनाएको छ । त्यही कारण डोटीमा अहिले ‘कस्को पल्ला भारी?’ भन्ने प्रश्नले सर्वसाधारणदेखि राजनीतिक विश्लेषकसम्म सबैको ध्यान खिचिरहेको छ ।

उम्मेदवारहरूको उमेर र अनुभवलाई हेर्ने हो भने सबैभन्दा बढी उमेरका उम्मेदवार कांग्रेसका भरत खड्का हुन्, जो ६८ वर्षका छन् । उनी पार्टीको पुरानो अनुहार र जिल्ला राजनीति भित्र लामो समयदेखि सक्रिय नेता हुन् । अर्कोतर्फ सबैभन्दा कम उमेरका उम्मेदवार माओवादीका प्रकाश कठायत हुन्, जो २९ वर्षका छन् । युवा उम्मेदवारको रुपमा रहेको दिपक धामी ३२ वर्षका छन् भने मितेरी पार्टीकी सरस्वती पाल ३५ वर्षकी, नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्ट ५६ वर्षका, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्का ५३ वर्षका, राष्ट्रिय प्रजातन्त्र पार्टीका खडक अग्रवाल ४१ वर्षका, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र शाही ५८ वर्षका र राष्ट्रिय जनमोर्चाका मणिराम भट्ट ५५ वर्षका छन् ।

डोटीमा अहिले चुनावी गतिविधि बढ्दै गएको छ । उम्मेदवार र उनका पक्षधरहरूले समाजिक सञ्जालदेखि लिएर प्रत्यक्ष भेटघाटसम्म गरेर मत माग्ने काम तीव्र बनाएका छन् । जिल्लाबाहिर रहेका डोटीवासीलाई समेत मतदानका लागि फर्किन आह्वान गरिएका छन् । स्थानीय बासिन्दा र राजनीतिक समीक्षकहरूले अहिलेको चुनावी माहोललाई ‘सशक्त र प्रतिस्पर्धात्मक’ भन्दै विश्लेषण गरिरहेका छन् ।

के थियो २०७९ को माहोल ?

डोटीमा गत निर्वाचनको पृष्ठभूमि हेर्ने हो भने २०७९ मा डोटीबाट प्रतिनिधि सभा निर्वाचनमा ६ दलले प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला प्रेम आले मगर (तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) ले २७ हजार २१० मत ल्याएर विजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरी कुमारी ओलि २३ हजार ४ मत लिएर पछि परेकी थिइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका अंक बहादुर खड्काले ८०२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ७७४ मत र स्वतन्त्र राज प्रशाद जोशिले १०४ मत पाएका थिए ।

त्यतिबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले एमालेविरुद्ध संयुक्त रुपमा चुनाव लडेको थियो । अहिले अवस्था बदलिएको छ । एकीकृत समाजवादी र माओवादी एक दल भएर नयाँ नाम ‘नेकपा’ स्थापना भइसकेको छ । यसपटक कुनै दलबीच चुनावी तालमेल छैन । यसैले पार्टीगत आधारमा २०७९ को समानुपातिक मतलाई अहिलेको चुनावको आधार मान्नुपर्ने अवस्था आएको छ ।

२०७९ को समानुपातिक मत परिणाममा कांग्रेस पहिलो भएको थियो । कांग्रेसले २२ हजार ५१६ मत पाएको थियो । एमालेले २२ हजार ४५६ मत ल्याएको थियो भने तत्कालिन माओवादीले ६ हजार ९२४ मत प्राप्त गरेको थियो । एकीकृत समाजवादीले २ हजार ३७३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २४८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९१० मत, राष्ट्रिय जनमोर्चाले ५६९ मत, जनसमाजवादी पार्टीले १९२ मत, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले १८७ मत र हाम्रो नेपाली पार्टीले १५० मत ल्याएको थियो । अहिले माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेको हुँदा सो दलको मत ९ हजार २९७ पुगेको छ ।

यसैबीच निर्वाचन आयोगले दिएको जानकारी अनुसार २०८२ सम्म डोटीमा १ हजार ८ सय ६२ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाताको संख्या बढ्दा चुनावमा युवा मतको प्रभाव बढ्ने अपेक्षा गरिएको छ । नयाँ पुस्ता नयाँ नेतृत्व खोजिरहेको र पुराना दलको आलोचना गरिरहेको अवस्थाले डोटीको चुनावलाई अझ प्रतिस्पर्धात्मक बनाएको छ ।

खोट नलागेको छैन नेता

अब ‘कस्को प्रतिस्पर्धा?’ भन्ने प्रश्न उठ्छ । पुरानो आधार हेर्ने हो भने कांग्रेसका भरत खड्का र एमालेका दिपक धामीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्थ्यो । तर अहिलेको राजनीतिक अवस्था फरक छ । जेन जी आन्दोलनले निम्त्याएको राजनीतिक चेतना र नयाँ नेतृत्वको खोजीले पुरानो दललाई चुनौती दिइरहेको छ ।

२०७४ मा प्रदेश क्षेत्र नम्बर (क) बाट निर्वाचित प्रदेश सभा सदस्य खड्का २०७० सालमा समानुपातिक सांसद बनेका थिए । उनी डोटेली जनतालाई घात गरेको आरोपबाट मुक्त छैनन् । २०७४ मा प्रदेश राजधानीको आश दिनु र पछि सोही आशलाई धोका बनाउनुले स्थानीय जनतामा असन्तुष्टि बढाएको छ । उनले पञ्चायतीकालदेखि विभिन्न गरिमामय पदमा रहेर पनि डोटेली जनताको हकहित र विकासका लागि काम गर्न नसकेको गुनासो पनि सुनिन्छ ।

साथै, कांग्रेसभित्रै दुई धार देखिन थालेको पनि चुनावी माहोलमा ठूलो चर्चा छ । भरत खड्का गगन थापाका पक्षधर हुन् भने शेर बहादुर देउवा पक्षले भरतलाई खुलेर समर्थन गर्नेमा शंका रहेको बताइन्छ । त्यही कारण उनको पल्ला यस पटक यति भारी नहुनसक्ने विश्लेषण गरिन्छ ।

एमालेको युवा अनुहार दिपक धामी, जो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय अध्यक्षसमेत हुन्, पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । उनी युवा र नयाँ नेतृत्वको प्रतिनिधित्व गर्ने भएकाले डोटीमा उनीलाई ‘बलियो उम्मेदवार’ मान्ने धार छ । तर, जेन जी आन्दोलनको समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहेको र त्यसै कारण आन्दोलन भएको भन्ने आवाज बलियो रहेकोले एमालेविरुद्ध सामाजिक सञ्जालदेखि खुलेर विरोध हुँदै आएको छ । यद्यपि युवा र सक्षम नेतृत्वको अपेक्षाका कारण धामीलाई डोटेली बासीले स्वीकार्न सक्ने सम्भावना पनि देखिन्छ ।

भूगोलका हिसाबले पनि कांग्रेसको बहुमत रहेको ठाउँका ब्यक्ति धामी भएका कारण कांग्रेसबाट समेत सहयोग पाउने सम्भावना छ । देउवा पक्षका केही कांग्रेस नेताले दिपकलाई समर्थन रहेको संकेत पनि गरेका छन् । यसले चुनावलाई अझै कस्को पल्ला भारी होला भन्न सकिने अवस्था छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नरेन्द्र बहादुर खड्काले उम्मेदवार छन् ।उनी डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेका थिए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा देशभर रहेको देखिन्छ । बालेन्द्र शाह र रवि लामिछानेलाई नयाँ नेतृत्वका रुपमा हेर्ने युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुपर्ने मत राखिरहेका छन् । नयाँ पुस्ता नयाँ नेतृत्व खोजिरहेको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘नेपाली राजनीति बदल्ने शक्ति’ मान्ने धार बढिरहेको छ ।

नरेन्द्र पनि विवादरहित भने रहन सकेका छैनन । खड्का पनि कांग्रेससँग आबद्ध व्यक्ति थिए । २०७९ मा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले डोटीलाई प्रदेश राजधानी बनाउन ठूलो भूमिका खेलेका थिए । डोटी राजधानी बनाउन माग गर्ने आन्दोलनमा उनी अग्रपंक्तिमा रहेका थिए । नयाँ नेतृत्वको खोजी रहेको अवस्थामा उनको सम्भावना बलियो देखिएको छ ।

यता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धन हुँदा डोटी प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । भट्टले लगातार पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

तर, उनलाई डोटेली जनतालाई घात ट्याग दिइसकेका छन् । प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्ने माग गर्दै साविकको क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर आन्दोलन गरिरहेका बेला उनी मुख्यमन्त्री भएपछि बोली फेरे । उनले भनेका थिए, ‘राजधानी मेरो वशको कुरा होइन, प्रदेश सभाले गर्ने निर्णय हो, तर सरकारको तर्फबाट डोटीका लागि गर्नुपर्ने काम म गर्छु।’ तर अन्तिम समयमा प्रदेश सभामा कैलालीको गोदावरीलाई राजधानी बनाउनु पर्नेमा हस्ताक्षर गरेकोले डोटेली जनतामा उनीप्रति विश्वास कमजोर भएको छ ।

अन्य उम्मेदवारहरूलाई भने अहिले त्यति चर्चा मिलिरहेको छैन । उनीहरूले राम्रो मत ल्याए पनि जितसम्म पुग्ने सम्भावना कमै देखिन्छ । तर चुनावमा जे पनि हुन सक्छ भन्ने सैद्धान्तिक सम्भावनाले सबैलाई सावधान बनाएको छ । स्थानीय जनताका छलफल र राजनीतिक विश्लेषणलाई मध्यनजर गर्दै बीमापोष्ट डटकमले चार उम्मेदवारलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरेको छ ।

यस्तो हुने सम्भावना कति ?

स्थानीय जनताका छलफल पछि हामीले सबैभन्दा अगाडि कांग्रेसका भरत खड्का र एमालेका दिपक धामीलाई राखिएको छौं । कांग्रेस र एमालेका पुराना मताधार र संगठनात्मक शक्ति यी दुईका पक्षमा रहेको छ । कांग्रेसले जिल्लामा लामो समयदेखि स्थापित नेटवर्क राख्दै आएको छ भने एमालेले युवा र संगठनात्मक रूपमा बलियो देखिएको छ ।

तर, यो भन्दैमा नयाँ अनुहार स्थापित नै हुन सक्दैन भन्ने होइन । ‘नयाँ नेतृत्व चाहिएको’ र ‘पुरानो राजनीतिमा असन्तुष्टि’ रहेको माहोलले राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्कालाई पनि मुख्य प्रतिस्पर्धी बनाएको छ । नयाँ पुस्ताले पुराना दलको विकल्प खोजिरहेको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ विकल्पको रुपमा उभिन सक्ने सम्भावना देखिन्छ ।

यसपटक चुनावी तालमेल नहुँदा पार्टीगत भोट विभाजन हुने सम्भावना छ । २०७९ को समानुपातिक मतलाई हेर्ने हो भने कांग्रेस र एमालेको मत लगभग समान छन् । त्यसैले यदि पार्टीगत भोट समानुपातिक रूपमा विभाजित भए, त्यहाँबाट नयाँ दल र नयाँ नेतृत्वले फाइदा उठाउन सक्छ ।

त्यस्तै, युवा नेतृत्व र नयाँ विचारका कारण दिपक धामीलाई पनि धेरैले बलियो उम्मेदवार मानिरहेका छन् । युवा, नयाँ अनुहार र संगठनात्मक क्षमता भएका कारण धामीलाई ‘भविष्यको नेता’ भनेर हेर्ने प्रवृत्ति देखिन्छ ।

यद्यपि डोटीमा ‘कसको पल्ला भारी?’ भन्ने प्रश्नमा स्थानीय जनताको धारणा विभाजित छ । कतिपयले कांग्रेसको पुरानो संगठन र अनुभवी नेताको पक्षमा मत दिने आशय राखेका छन् । कतिपयले नयाँ नेतृत्वको खोजी र राजनीतिक परिवर्तन चाहने भावनाका कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राथमिकता दिन्छन् ।

एमालेको युवा अनुहार र संगठनात्मक मजबुतिलाई पनि धेरैले मान्यता दिन्छन् । तर, जेन जी आन्दोलन र त्यसको राजनीतिक प्रभावले एमालेलाई चुनौतिमा पारिरहेको छ । एमालेले पुरानो पार्टीको छवि परिवर्तन गर्न सकेको छैन भन्ने धारणा केही मतदातामा देखिन्छ ।

त्यसैगरी, नेकपाका त्रिलोचन भट्ट र कांग्रेसका भरत खड्काबीचको पुरानो राजनीतिक संघर्ष र घातको आरोपले पनि जनतामा द्विविधा पैदा गरेको छ । डोटीको निर्वाचन क्षेत्रमा प्रदेश राजधानी र विकास सम्बन्धी मुद्दा निकै संवेदनशील छन् । डोटेली जनताले लामो समयदेखि प्रदेश राजधानी दिपायलमा बसोबास र विकासको माग गर्दै आएका छन् । राजधानीको विषयमा भएका राजनीतिक प्रतिगमन र घोषणाले जनतामा असन्तुष्टि बढाएको छ ।

यसै सन्दर्भमा, नरेन्द्र खड्काको भूमिका र आवाजलाई नयाँ नेतृत्वको रूपमा देख्ने जनमत पनि बढिरहेको छ । उनी डोटी राजधानी बनाउने आन्दोलनका अगुवाहरूमध्ये एक हुन् । यसले उनलाई स्थानीय जनतामा विकासवादी र अधिकारवादी नेताको रूपमा चिनाएको छ ।

डोटीमा चुनावी माहोल तातिरहेको बेला मतदाताको मनोविज्ञान पनि बदलिएको देखिन्छ । समाजिक सञ्जालमा मत माग्ने, प्रत्यक्ष भेटघाट र जनसभामा सहभागी हुने क्रम बढेको छ । स्थानीय युवाहरूले नयाँ नेतृत्वको खोजी गरेका छन् भने बूढा पुस्ताले पुरानो अनुभव र संगठनलाई प्राथमिकता दिन्छन् । यी सबै मिलेर डोटीको चुनावलाई यहि नेतृत्व आउँछ भनेर भन्न सकिने अवस्था छैन ।

फागुन २१ को मतदानले देखाउने परिणामले नै स्पष्ट पार्नेछ कि डोटीका मतदाताले अनुभव लाई प्राथमिकता दिए कि नयाँ नेतृत्व लाई ? तर अहिलेको स्थिति हेर्दा डोटीमा चुनावी माहोल पूर्ण रूपमा खुल्ला र प्रतिस्पर्धात्मक बनेको छ । पुरानो दलका नेताहरूले आफ्नो संगठन र अनुभवलाई बल बनाएर मत मागिरहेका छन् भने नयाँ दल र युवा नेतृत्वले परिवर्तन र नयाँ राजनीति को नारा लिएर मतदातामा प्रभाव पार्न खोजिरहेका छन् । तर, कसको पल्ला भारी? भन्ने प्रश्नको उत्तर फागुन २१ पछि मात्र स्पष्ट हुनेछ ।

-यो लेख हामीले डोटीका स्थानिय र राजनीतिक विश्लेषकसँगको छलफलपछि तयार गरीएको हो ।

सम्बन्धीत समाचारः

डोटेली जनतालाई प्रदेश राजधानी मुद्दामा धोका दिएका खड्का र भट्ट फेरि चुनावी मैदानमा!

तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!

डोटीलाई प्रदेश राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेले कैलाली-५ बाट दर्ता गरे उम्मेदवारी

डोटेली जनताको विश्वास खोस्ने बलायरको चुनावी नाटक, दिन थाले निर्वाचन लक्षित खोक्रो भाषण

नेताको भोट बैंक बनेको सातनाली पुलः साउदको मनपरीले स्थानियलाई सास्ती, मल्ल र आले मुकदर्शक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*