प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको त्रिपल बी माइनस रेटिङ पुनः पुष्टि, विश्वसनीयता र सबलता कायम

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र वित्तीय सुदृढता र व्यावसायिक विस्तारलाई आधार मानेर यसको जारीकर्ता रेटिङ पुनः पुष्टि गरिएको छ । रेटिङ संस्था इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई इक्राएनपी–आईआर त्रिपल बी माइनसमा नै कायम राख्दै पुनः पुष्टि गरेको हो ।
यो स्तरको रेटिङ भएका संस्थालाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा सुरक्षित अवस्था रहेको मानिन्छ । रेटिङ प्रतीकमा जोडिने प्लस वा माइनस चिन्हले सम्बन्धित वर्गभित्रको तुलनात्मक स्थिति जनाउने प्रावधानसमेत उल्लेख गरिएको छ ।

रेटिङ पुनः पुष्टि गर्दा कम्पनीको व्यवसायिक वृद्धिलाई मुख्य आधार मानिएको छ । सन् २०२५ मा कम्पनीको खुद प्रिमियम आम्दानीमा करिब २२ प्रतिशतको वार्षिक वृद्धि भएको छ । पहिलो वर्षको प्रिमियम आम्दानीमा करिब ३९ प्रतिशतको मजबुत वृद्धि र नवीकरण प्रिमियममा करिब ११ प्रतिशतको वृद्धि हुनु कम्पनीको सकारात्मक व्यवसाय विस्तारका सूचकका रूपमा लिइएको छ । कम्पनीको कुल प्रिमियम आम्दानीमध्ये करिब ९५ प्रतिशत हिस्सा एन्डोमेन्ट बीमाले ओगटेको संरचना पनि स्थिर व्यवसायिक आधारका रूपमा मूल्याङ्कन गरिएको छ ।
साथै, कम्पनीको सोल्भेन्सी स्थिति पनि मजबुत देखिएको छ । २०२५ को मध्य जुलाईसम्म कम्पनीको सोल्भेन्सी अनुपात १९१ प्रतिशत पुगेको छ, जुन नियामकले तोकेको न्यूनतम १३० प्रतिशतको सीमाभन्दा उल्लेखनीय रूपमा माथि छ । लगानी पोर्टफोलियोको गुणस्तर सन्तोषजनक रहेको र पुनर्बीमा व्यवस्थाहरू पर्याप्त रहेको मूल्याङ्कन पनि रेटिङमा सकारात्मक पक्षका रूपमा समेटिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको करिब २४ प्रतिशत स्वामित्व, वितरण सञ्जालको विविधता र अनुभवी व्यवस्थापन टोलीले कम्पनीको संस्थागत बललाई थप मजबुत बनाएको उल्लेख छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापना सन् २०२३ जुलाईमा पूर्वप्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीचको मर्जरपछि भएको हो । उक्त मर्जर १ः१ शेयर अदलाबदली अनुपातमा सम्पन्न भएको थियो । प्रभु लाइफले सन् २०१७ डिसेम्बरदेखि आफ्नो सञ्चालन सुरु गरेको थियो भने महालक्ष्मी लाइफ सन् २०१९ जनवरीदेखि सञ्चालनमा आएको थियो ।












