शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एक वर्षको अवधिमा अतिथि सत्कारमा मात्रै ठूलो रकम खर्च गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र जनमुखी कार्यक्रमभन्दा प्रशासनिक तथा स्वागत सत्कारजन्य शीर्षकमा उल्लेखनीय रकम खर्च गरेको देखाएको हो ।
प्रतिवेदनअनुसार नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार शीर्षकमा मात्रै २७ लाख १४ हजार ९३८ रुपैयाँ खर्च गरेको छ । यो रकम नगरपालिकाले सोही अवधिमा संकलन गरेको कुल आन्तरिक आय ७८ लाख ३५ हजार ३३० रुपैयाँको ३४.६५ प्रतिशत बराबर हो । स्थानीय तहको सीमित आन्तरिक स्रोतको ठूलो हिस्सा अतिथि सत्कारमा खर्च गरिएको तथ्य बाहिरिपछि सार्वजनिक स्रोतको उपयोगको प्रभावकारिता र औचित्यमाथि महालेखाले प्रश्न उठाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार बनाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृतले बजेट कार्यान्वयन गर्दा यिनै सिद्धान्तलाई अनुसरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा पालिकाले आन्तरिक आयको अवस्थालाई समेत विचार गरी खर्च व्यवस्थापन गर्नुपर्ने महालेखाले जोड दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भने उक्त खर्चलाई स्वाभाविक र आवश्यक खर्चका रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘विभिन्न सरकारी निकाय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधि, अनुगमन टोली, विकास साझेदार तथा अन्य पालिकाका प्रतिनिधिहरूको नियमित आगमन हुने स्थानीय तह हो । ती व्यक्तिहरूको स्वागत, खानपिन तथा बसोबास व्यवस्थापनमा खर्च भएको रकम नै प्रतिवेदनमा अतिथि सत्कार शीर्षकमा देखाएको छ ।’
नगर प्रमुख दीर्घ बलायरले पनि अतिथिहरूको स्वागत तथा व्यवस्थापनमा खर्च भएको स्वीकार गरेका छन् । स्थानीय तहमा संघीय र प्रदेश सरकारका अधिकारीदेखि विभिन्न निकायका प्रतिनिधिहरू आउने क्रम नियमित रहने भएकाले आवश्यक व्यवस्थापनमा खर्च हुनु स्वाभाविक रहेको उनको तर्क छ ।












