शिखर नगरपालिकाद्वारा शिक्षण सुधारका लागि आईसीटी र एआई क्षमता विकास तालिम सम्पन्न

८ असार २०८३, सोमबार १३:०२

काठमाडौँ । शिखर नगरपालिकाका आधारभूत तह ६ देखि ८ कक्षा र माध्यमिक तहमा अध्यापनरत विज्ञान, गणित तथा अंग्रेजी विषयका शिक्षकहरूका लागि आइसीटी तथा एआई सिमुलेसन सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

२०८३ साल असार ६ र ७ गते सञ्चालन भएको उक्त तालिम शिखर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, तल्कोट, डोटीको आयोजनामा सम्पन्न भएको हो। तालिमको मुख्य उद्देश्य विज्ञान, गणित र अंग्रेजी विषयको शिक्षणलाई आधुनिक प्रविधिसँग जोड्दै शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउनु रहेको आयोजकले जनाएको छ।

विज्ञान विषयका शिक्षकहरूका लागि सीताराम माध्यमिक विद्यालय, शिखर नगरपालिका–४ उच्चाकोटमा सम्पन्न तालिममा प्रशिक्षकका रूपमा गोविन्द धामीले सूचना तथा सञ्चार प्रविधि तथा कृत्रिम बौद्धिकता आधारित अनुकरण विधिको प्रयोग, डिजिटल माध्यमबाट शिक्षण सामग्री निर्माण, प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तरिका तथा विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्ने विविध उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए।

त्यसैगरी गणित विषयका शिक्षकहरूका लागि शिखर नगरपालिका–१० बानेडुग्रीसैनस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा सम्पन्न तालिममा प्रशिक्षकद्वय वीर बहादुर चलाउने र राधा विष्टले आधुनिक प्रविधिको प्रयोगमार्फत गणित शिक्षणलाई सरल, रोचक र व्यवहारिक बनाउने विधिहरूबारे प्रशिक्षण दिएका थिए।

अंग्रेजी विषयका शिक्षकहरूका लागि सञ्चालन गरिएको छुट्टै तालिममा पनि गोविन्द धामीले सूचना तथा सञ्चार प्रविधि तथा कृत्रिम बौद्धिकता आधारित अनुकरण प्रणालीको प्रयोग गर्दै अंग्रेजी शिक्षणलाई प्रभावकारी बनाउने, विद्यार्थीको भाषिक सीप विकास गर्ने तथा डिजिटल स्रोतहरूको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै शिक्षा क्षेत्रलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको स्पष्ट गर्दै शिक्षकहरूको क्षमता विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘सरकार भनेको शिक्षकहरूको बलियो सहयोगी हो, विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार, प्राविधिक सुविधा, शैक्षिक सामग्रीदेखि लिएर जनशक्ति व्यवस्थापनसम्मका विषयमा हामी निरन्तर काम गरिरहेका छौं, यस्ता क्षमता विकासका गतिविधिहरू हाम्रो नियमित प्रयास हुन्, शिखर नगरपालिकाले यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजानेछ।’

नगर प्रमुख बलायरले स्थानीय तह केवल विकास निर्माणमा मात्र सीमित नभई शिक्षा सुधारमा पनि समान रूपमा जिम्मेवार रहेको उल्लेख गरे। उनले थपे, ‘म नगर प्रमुख भएको नाताले ११ वटै वडाको समग्र विकास हेर्ने जिम्मेवारी मेरो हो, यहाँका सर्वसाधारणका समस्या, विकासका आवश्यकता र जनजीवनसँग जोडिएका सबै पक्षमा हामी निरन्तर सक्रिय रहन्छौं, त्यसैगरी शिक्षकहरू पनि आफ्ना विद्यालय र विद्यार्थीप्रति त्यत्तिकै जिम्मेवार र लगनशील हुनुपर्छ।’

उनले शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षकहरूको भूमिका निर्णायक हुने भन्दै बौद्धिकता र क्षमता उमेर, जात वा वर्गले निर्धारण नगर्ने स्पष्ट धारणा राखे। ‘बौद्धिकता र क्षमता उमेरले होइन, जातले होइन, वंशले होइन, निरन्तर अभ्यास, मेहनत र समर्पणले निर्धारण गर्छ’ उनले जोड दिए।

तालिममा सहभागी शिक्षकहरूले सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बौद्धिकता आधारित अनुकरण शिक्षण विधिले पढाउन सजिलो हुने, विद्यार्थीको बुझाइ स्तर बढ्ने र प्रयोगात्मक सिकाइमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*