नेपालमा याडियाको प्रिमियम ‘कीनेस’ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे सवारी ब्रान्ड याडियाको प्रिमियम मोटरसाइकल ‘याडिया कीनेस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले सोमबार एक कार्यक्रममार्फत उक्त नयाँ मोडेल बजारमा ल्याएको हो।
कम्पनीले याडिया कीनेसको अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेको छ। उच्च प्रदर्शन, आधुनिक डिजाइन र उन्नत प्रविधिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो मोटरसाइकललाई दैनिक आवागमनसँगै स्पोर्टी राइडिङ अनुभव खोज्ने उपभोक्तालाई लक्षित उत्पादनका रूपमा प्रस्तुत गरिएको छ।
यस मोडेलमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ उच्च–प्रदर्शन मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्ने दाबी कम्पनीले गरेको छ। यसको एक्सेलेरेसन क्षमता निकै तीव्र रहेको उल्लेख गर्दै कम्पनीका अनुसार यो मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति करिब ३ सेकेन्डमै हासिल गर्न सक्छ भने अधिकतम गति १०० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्षम छ।
नेपालका भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसको डिजाइन गरिएको बताउँदै कम्पनीले २० डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्ने क्षमता रहेको जनाएको छ। यसले पहाडी सडक तथा विविध भू–भागमा पनि सहज सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ब्याट्रीतर्फ ४.६ किलोवाट क्षमताको प्रणाली प्रयोग गरिएको छ। यसमा ४० भन्दा बढी सुरक्षा सुविधासहितको उन्नत ब्याट्री व्यवस्थापन प्रणाली समावेश गरिएको छ, जसले तापक्रम नियन्त्रण, सुरक्षा सुनिश्चितता, स्थिर कार्यसम्पादन र दीर्घायुमा मद्दत गर्ने कम्पनीको भनाइ छ।











