बीवाईडी ‘एटो-टु’ र ‘एटो-थ्री’ मोडलको मूल्य बढ्यो

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले दुई मोडलका इलेक्ट्रिक गाडी (ईभी) को मूल्यमा समायोजन गरेको छ । कम्पनीले हालै सरकारी बजेटमार्फत समायोजित भन्सार महसुल र हरित पूर्वाधार शुल्कका कारण मूल्य पुनरावलोकन गरिएको जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले वृद्धि भएको छ । अब यो गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बीवाईडी ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य पनि बढाइएको छ । पहिले ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको उक्त मोडलको मूल्य २ लाख रुपैयाँले वृद्धि भई ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
तर, कम्पनीका अनुसार बीवाईडी एटो–१ मोडलको मूल्य भने यथावत् राखिएको छ ।
प्राविधिक पक्षमा हेर्दा बीवाईडी ‘एटो टु’ मा ५१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ ।
त्यस्तै, ‘एटो थ्री’ मा ६०.४८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले ४२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसमा पनि १०० किलोवाट क्षमताकै मोटर जडान गरिएको छ ।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारी साधन (ईभी) को मूल्य घट्ने दाबी सार्वजनिक रूपमा गर्दै आएका बेला बीवाईडीले भने आफ्ना सस्तो श्रेणीका मोडलको मूल्य बढाएको हो ।











