सरकारी साक्षीले दिए भ्रष्टाचारीको पक्षमा बयान, अख्तियारले चलायो ५० लाखको मुद्दा

१० असार २०८३, बुधबार १६:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईंले भ्रष्टाचारीको पक्षमा बयान दिएपछि उनीमाथि अनुसन्धान गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का चापागाईंले यसअघि झलकराम अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा सहयोग गरेका कारण उनलाई उन्मुक्ति दिई सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएको थियो। तर विशेष अदालतमा बकपत्र गर्ने क्रममा उनले अनुसन्धानका बेला दिएको बयान र मिसिलमा रहेका प्रमाणविपरीत भ्रष्टाचारीको पक्षमा बयान दिएका थिए।

चापागाईंले झलकराम अधिकारीको निर्देशनमा ५० लाख रुपैयाँ बराबरको चेक आफ्नो नाममा बुझी बैंक खातामा जम्मा गरेको तथा उक्त रकमबाट जग्गा खरिदका लागि भुक्तानी गरेका थिए। उक्त रकम एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट व्यापारिक कारोबारमा सहजीकरण गरिदिने उद्देश्यले घुसस्वरूप उपलब्ध गराइएको आयोगको दाबी छ।

चापागाईंले घुस लेनदेनमा सहयोग तथा सहजीकरण गरेको देखिएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मतियारको रूपमा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा समेत संलग्न रहेको ठहर गर्दै सो ऐनबमोजिम कारबाहीको माग गरिएको छ। उनलाई ५० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा चलाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*