राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गर्दै पौडेलको रिहाइ माग, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ।
पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाण वा कानुनी आधारबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश जारी गर्न माग गरिएको छ।
रिट निवेदनमा पौडेललाई संविधान तथा प्रचलित कानुनले प्रत्याभूत गरेको व्यक्तिगत स्वतन्त्रताको अधिकारविपरीत हिरासतमा राखिएको जिकिर गरिएको छ। साथै, पक्राउ प्रक्रिया र हिरासतमा राख्ने कार्य कानुनी मापदण्डअनुसार नभएको दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको सेयर कारोबारमा चिनजान गराइदिएको भन्ने बयानका आधारमा पौडेललाई पक्राउ गरेको थियो। विभागले मंगलबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतबाट म्याद थपसमेत गरेको छ।
पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं ल्याइएको थियो।











