बाढीले जलविद्युत् आयोजनामै प्रहारः कसुवाखोला र इसुवा हाइड्रोमा करोडौंको क्षति

११ असार २०८३, बिहीबार ११:०१

काठमाडौँ । गत सोमबार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वाधार तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। मकालु गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेपछि आयोजनामा व्यापक क्षति पुगेको हो ।

बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडका लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, करिब ६० टन रड तथा ५०० बोरा सिमेन्ट बगाएको छ। यस्तै, इसुवा हाइड्रोपावर आयोजना पनि बाढी र पहिरोबाट प्रभावित भएको छ। सताङदेखि ड्यामसाइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा विभिन्न स्थानमा पहिरो खसेको छ। आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण स्थानीय बस्तीसमेत जोखिममा परेको छ। मकालु गाउँपालिका–१ स्थित मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताए। त्यस्तै, सिंहेश्वरी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको छ।

बाढीले नुर्वुचौर र नुर्वु गाउँलाई जोड्ने इसुवाखोलाको झोलुंगे पुल बगाएको छ। साथै नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा र चार वटा काठे पुलसमेत बाढीले बगाएको छ। पुल बगाएपछि स्थानीयवासीको दैनिक आवतजावत प्रभावित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*