जी मोटर्सबाट खोसियो स्काईवेलको आधिकारिक डिलरसिप, नयाँ आयातकर्ताको दौड सुरु

काठमाडौं । नेपालमा चिनियाँ प्रिमियम विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड स्काईवेल र स्काईवर्थको आधिकारिक वितरकका रूपमा कार्यरत जी मोटर्सको अधिकार औपचारिक रूपमा समाप्त भएको छ। स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गर्दै जुन ५, २०२६ देखि लागू हुने गरी उक्त कम्पनीलाई नेपालका लागि आधिकारिक डिलरको सूचीबाट हटाएको जनाएको हो।
उत्पादक कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ विभागका प्रतिनिधि ह्वाङ युले असार १ गते (जुन १५) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई इमेल पठाउँदै जी मोटर्स अब स्काईवेल र स्काईवर्थ ब्रान्डका सवारी साधन आयात तथा बिक्री गर्नका लागि कम्पनीको अधिकृत प्रतिनिधि नरहेको स्पष्ट पारेका छन्। इमेलमा आवश्यक परे थप प्रमाण तथा विवरण उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ।
चिनियाँ उत्पादक कम्पनीबाट प्राप्त यही आधिकारिक जानकारीका आधारमा विभागले जी मोटर्सलाई यसअघि प्रदान गरिएको एजेन्सी दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। कानुनी प्रक्रिया पूरा भएपछि जी मोटर्सले स्काईवेल ब्रान्डका सवारी साधन नेपाल भित्राउन पाउने अधिकार स्वतः समाप्त हुनेछ।
उक्त घटनाक्रमसँगै पछिल्लो समय जी मोटर्सले आफ्ना सवारी साधनहरूमा आक्रामक छुट योजना सार्वजनिक गरेको विषय पनि चर्चामा आएको छ। बजेटपछिको अवधिमा अधिकांश प्रतिस्पर्धी ब्रान्डका गाडीको मूल्य वृद्धि भइरहेका बेला जी मोटर्सले लाखौँ रुपैयाँसम्म छुट दिएर गाडी बिक्री गर्न थालेको थियो। जी मोटर्सले विक्रम संवत् २०८१ को सुरुवाततिर स्काईवेल ब्रान्डलाई नेपालमा भित्राएको थियो। लामो रेन्ज, प्रिमियम सुविधाहरू तथा अत्याधुनिक प्रविधिका कारण स्काईवेलले नेपाली ईभी बजारमा सुरुवाती चरणमै उल्लेखनीय चर्चा बटुलेको थियो। नेपाली बजारमा प्रवेश गर्दा स्काईवेललाई सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय सवारी साधनका रूपमा प्रचार गरिएको थियो।
कम्पनीले पहिलो मोडलका रूपमा स्काईवेल ईटी५ बजारमा ल्याएको थियो। हाल नेपाली बजारमा बीई११ का दुई भेरियन्ट तथा ईटी५ गरी दुई मोडलका तीन भेरियन्ट उपलब्ध छन्। यी सवारी साधनहरूले क्रमशः ४१०, ५२० र ६२० किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीले गर्दै आएको थियो।
ब्रान्डलाई स्थापित गर्न जी मोटर्सले देशभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा समेत ठूलो लगानी गरेको थियो। भक्तपुरको राधेराधे र इटहरीमा आधुनिक सर्भिस सेन्टर स्थापना गरिएका छन् भने राधेराधे, नक्साल, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्ष सञ्चालनमा रहेका छन्। यद्यपि पर्याप्त बजार विस्तार र बिक्री वृद्धिको लक्ष्य हासिल गर्न कम्पनी सफल हुन सकेको थिएन
जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल रास्वपा सांसद पारसमणी गेलालका भाई हुन् ।











