अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट, नेपाली उपभोक्तामाथि लुटधन्दा चलाउँदै आयल निगम

११ असार २०८३, बिहीबार १४:१७

काठमाडौँ । आम सर्वसाधारणको आँखामा छारो हाल्दै नेपाल आयल निगमले लुटधन्दा मच्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाल बजारमा महँगो दरमै इन्धन बिक्री भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पटक उच्चतम विन्दुबाट करिब ३० प्रतिशतले घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७.६३ प्रति ब्यारेलबाट घटेर ६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको देखिन्छ । तर, घुस, भ्रष्टाचारको दलदलमा फसेको आयल निगम भने नेपाली उपभोक्ताहरुलाई महङ्गो मूल्यमा तेल बिक्री गर्दै आइरहेको छ ।

नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने नियम रहेको छ । तर, मूल्य बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा लागू नगर्ने आयल निगमको चरम लापबारहीले सर्वसाधारणलाई भार थपि रहेको हो । जसले निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ ।

निगमको सञ्चालक समितिको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत रहेका छन् । निगमको निर्णय प्रक्रियामा नेतृत्व तहको महत्वपूर्ण भूमिका रहने भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत नेपाली बजारमा त्यसअनुसारको राहत नआएको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठी रहेका छन् ।

वास्तवमा कच्चा तेल र अन्तिम उपभोक्तासम्म पुग्ने प्रशोधित पेट्रोलियम पदार्थको मूल्यबीच केही समयको अन्तर हुनु स्वाभाविक मानिन्छ । कच्चा तेल खरिद, प्रशोधन, ढुवानी, भण्डारण तथा वितरण प्रक्रियाले निश्चित समय लिने भएकाले अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तन तत्काल नेपाली बजारमा प्रतिबिम्बित नहुन सक्छ । तर विश्व बजारको मूल्यमा भारी गिरावट आइसक्दा समेत निगमको लुटधन्दाले आम सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

देशमा महँगी निरन्तर बढिरहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यले प्रत्यक्ष रूपमा सम्पूर्ण अर्थतन्त्रलाई असर गर्ने गर्दछ । इन्धन महँगो हुँदा सार्वजनिक यातायात, मालवाहक ढुवानी, कृषि उत्पादन, निर्माण सामग्री, उद्योग सञ्चालनदेखि दैनिक उपभोग्य वस्तुसम्मको लागत बढ्ने गर्छ । त्यसको असर अन्ततः सर्वसाधारण नागरिकको भान्सासम्म पुग्छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपाल आयल निगमको चरम लापरबाही र सरकारको बेवास्ताले सर्वसाधारण महङ्गीको मारमा परिरहेका हुन् ।

नियमले मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आमउपभोक्तालाई थप मारमा पारिरहेको हो । कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घट्नुपर्नेमा आयल निमगको चरम लापरबाहीले सर्वसाधारणलाई सास्ती भइरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य केवल निगमको आन्तरिक विषय मात्र होइन यो लाखौँ नेपालीको दैनिक जीवनसँग जोडिएको विषय हो । यातायात खर्चदेखि खाद्यान्न मूल्यसम्म असर गर्ने भएकाले यसको प्रत्येक निर्णयले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको लाभ नागरिकले पाउनुपर्ने सामान्य अपेक्षा हो । तर अहिलेको अवस्थाले त्यो अपेक्षामाथि बारम्बार निराशा थपिरहेको देखिन्छ । जसमा सुशासनको जगमा बनेको बालेन शाहको सरकार समेत मौन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*