विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

११ असार २०८३, बिहीबार १४:४०

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग्ने गरी कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

पौडेलकी श्रीमती दोमायाले बुधबार आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेत लाई विपक्षी बनाइएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले गत सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएका पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। त्यसपछि विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन थुनामा राख्न अनुमति दिएको छ।

पौडेललाई थुनामा राखिएको विषयमा कानुनी प्रक्रिया र अनुसन्धानको वैधानिकतामाथि प्रश्न उठाउँदै उनकी श्रीमतीले सर्वोच्च अदालतको शरण लिएकी हुन्। अब सर्वोच्च अदालतले विपक्षी पक्षबाट लिखित जवाफ प्राप्त गरेपछि रिटमाथि थप सुनुवाइ गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*