सुपर स्प्लेन्डर र जुम जेडएक्सको बढ्दो मागले चम्कियो सीजी फ्युचर, १० महिनामै ४ अर्बमाथिको व्यापार

१२ असार २०८३, शुक्रबार ११:५५

काठमाडौँ । नेपालको व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको हिरो मोटरसाइकल एसेम्बली उद्योग सीजी फ्युचर फ्याक्ट्रीले १० महिनामा नै ४ अर्बमाथिको व्यापार गरेको छ । ‘हिरो’ ब्रान्डका दुईपांग्रे सवारीसाधनको स्थानीय एसेम्बल सुरु गरेसँगै कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८२ को बैशााख मसान्तसम्मको अवधिमा ४ अर्ब १० करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ र २०८०।०८१ को ३ महिनामा ६८ करोेड ७० लाख रुपैयाँको व्यापार गरेको हो । नेपाली अटो बजारमा हिरो ब्रान्डका मोटसाइकल र स्कुटर सर्वाधिक बिक्री वितरण हुँदा कम्पनीले छोटा समयमा नै उल्लेख्य व्यापार गर्ने सफल भएको छ ।

२०२३ मे महिनामा स्थापना भएको कम्पनीले २०२४ अप्रिलको मध्यदेखि हीरो ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनको एसेम्बली कार्य सञ्चालन गर्दै आएको छ । नवलपरासी जिल्लामा रहेको सीजी इन्डस्ट्रियल पार्कस्थित एसेम्बली केन्द्रमा पूर्ण रूपमा छुट्टाछुट्टै पुर्जा आयात गरी मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिन्छ । यसरी एसेम्बल गरिएका सबै सवारीसाधन कम्पनीले आफ्नो भगिनी संस्था सीजी मोटर्स प्रालिलाई बिक्री गर्दै आएको छ ।

कम्पनीको सञ्चालन नाफाको अवस्था पनि क्रमिक रूपमा मजबुत बन्दै गएको देखिन्छ । सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफाको अनुपात प्रारम्भिक अवधिमा ६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ६.२ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो १० महिनामा यो अनुपात उल्लेखनीय रूपमा बढेर ८.७ प्रतिशत पुगेको छ ।

कम्पनीको वित्तीय दायित्व व्यवस्थापनमा पनि क्रमिक सुधार देखिएको छ । कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात प्रारम्भिक अवधिमा ४.१ गुणा रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ३.४ गुणामा झरेको छ भने चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३.३ गुणामा सीमित भएको छ । यसैगरी कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिबीचको अनुपात पनि ४.१ गुणाबाट घटेर ३.८ गुणा हुँदै ३.६ गुणामा पुगेको छ ।

नाफाबाट ऋण भुक्तानी गर्ने क्षमता पनि उल्लेखनीय रूपमा सुदृढ भएको छ । सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात प्रारम्भिक अवधिमा ७.८ गुणा रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ६.१ गुणा र चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४.६ गुणामा झरेको छ।

हाल कम्पनीको कुल आम्दानीमध्ये आधाभन्दा बढी हिस्सा ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल र ‘जुम जेडएक्स’ स्कुटरबाट प्राप्त भइरहेको छ । कम्पनीको दुईपांग्रे सवारीसाधन जडान व्यवसाय सरकारद्वारा स्थानीय जडानमा प्रदान गरिएको भन्सार तथा अन्तःशुल्क सहुलियत दिएको हुँदा कम्पनीको आगामी व्यापार अझ बढ्दै जाने देखिएको हो ।

स्वदेशमै हीरो ब्रान्डका मोटरसाइकल र स्कुटर एसेम्बली गर्दै उत्पादन विस्तार, बढ्दो सञ्चालन आम्दानी, सुधारिँदै गएको नाफा, बलियो बन्दै गएको ऋण व्यवस्थापन क्षमता तथा सुदृढ वित्तीय सूचकका आधारमा सीजी फ्युचर फ्याक्ट्री प्रालिले नेपालको दुईपाङ्ग्रे सवारीसाधन उत्पादन क्षेत्रमा आफ्नो उपस्थिति क्रमशः मजबुत बनाउँदै गएको देखिएको छ । कम्पनीको शेयर स्वामित्वमा सरिका चौधरीको ६० प्रतिशत र निर्वाण कुमार चौधरीको ४० प्रतिशत हिस्सा रहेको छ । निर्वाण कुमार चौधरी कम्पनीका अध्यक्षका साथै सीजी मोटर्स प्रालिका पनि अध्यक्ष रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*