नागार्जुन नगरपालिकामा २ अर्ब ५० करोडको बजेट प्रस्तुत

काठमाडौं । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५० करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। असार १० गते १३औं नगरसभामा कार्यवाहक मेयर सुशीला अधिकारीले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटअनुसार संघीय सरकारबाट सशर्त अनुदानतर्फ २४ करोड ७६ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १९ करोड ४२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १३ करोड १६ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
त्यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ १ करोड २८ लाख रुपैयाँ, समानीकरण अनुदानतर्फ १ करोड ७८ लाख ४५ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन दस्तुर (मालपोत) तर्फ ८० करोड ४२ लाख रुपैयाँ र राजस्व बाँडफाँड (सवारी साधन कर) बाट ६ करोड प्राप्त हुने अनुमान छ।
यता नगरपालिकाको आन्तरिक स्रोतबाट ७९ करोड ६७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने र नगरपालिकाको अनुमानित बैंक मौज्दात १९ करोड रुपैयाँ रहेको उल्लेख छ।
नगरपालिकाले चालू आवको दायित्वमा ७१ करोड रुपैयाँ, वडा सिलिङ्गमा १२ करोड २५ लाख रुपैयाँ, विषयगत शाखाको सिलिङ बजेटमा १८ करोड ७ लाख रुपैयाँ, प्रशासनिक खर्चमा ३५ करोड रुपैयाँ र नगरस्तरीय योजना तथा कार्यक्रममा ७४ करोड ९५ लाख रुपैयाँ व्यव हुने अनुमान गरेको छ।











