पुनःस्थापनाको माग गर्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन, ‘राज्य आतंक बन्द गरियोस्’

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोध गर्दै प्रभावित समुदायले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्। विस्थापनमा परेका परिवारको पुनःस्थापना, क्षतिपूर्ति र सुरक्षित आवासको सुनिश्चितता माग गर्दै उनीहरूले सरकारविरुद्ध विरोध जनाएका हुन्।
केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती हटाउने कार्य मानवोचित नभएको बताएका छन्। उनीहरूले विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले बस्ती हटाउने क्रममा भत्काइएका घर तथा अन्य संरचनाको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्। वैकल्पिक व्यवस्था नगरी गरिएको निष्कासनले विपन्न परिवार थप समस्यामा परेको उनीहरूको भनाइ थियो।
आन्दोलनरत पक्षले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका परिवारको भविष्य अझै अन्योलमा रहेको उल्लेख गर्दै स्पष्ट पुनःस्थापना योजना नबनाई थप स्थानान्तरण वा निष्कासन नगर्न सरकारलाई आग्रह गरेका छन्।
सरकारले केही दिनअघि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीलाई आफ्नो बसोबासको व्यवस्था आफैं गर्नुपर्ने आशयको सूचना जारी गरेपछि प्रभावित समुदायको असन्तोष चुलिएको छ। यही विषयलाई लिएर आन्दोलनका कार्यक्रम क्रमशः विस्तार हुँदै गएको प्रदर्शनकारीहरूको भनाइ छ।











