सरकारलाई गरेका सिफारिसको कार्यान्वयन सन्तोषजनक छैनः मानव अधिकार आयोग

काठमाडौं । यातनापीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको जनाएको छ।
आयोगले यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार तथा दण्डविरुद्ध शून्य सहनशीलताको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यातनापीडितहरूको अधिकारको सम्मान, संरक्षण र संवद्र्धन सुनिश्चित गर्न आग्रह गरेको छ।
आयोगका अनुसार यस वर्ष गरिएको हिरासत तथा कारागार अनुगमनका क्रममा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको, खानेपानी, सरसफाइ, शौचालय तथा आन्तरिक व्यवस्थापनमा अपेक्षित सुधार हुन नसकेको पाइएको छ। यस्तो अवस्थाले यातना विरुद्धको अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको आयोगको निष्कर्ष छ।
आयोगले आफूले दिएका सिफारिस मात्र नभई संयुक्त राष्ट्रसंघीय संयन्त्रहरूबाट भएका सुझाव तथा सिफारिसहरूको कार्यान्वयन पनि सन्तोषजनक नरहेको जनाएको छ। साथै सशस्त्र द्वन्द्वकालका अधिकांश यातना पीडितले हालसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेको र यातनाजन्य कार्य पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै अनुसन्धान प्रणालीलाई अझ वैज्ञानिक, स्वतन्त्र र प्रभावकारी बनाउन अतिरिक्त पहल आवश्यक रहेको आयोगको भनाइ छ।
आयोगका अनुसार नेपालले यातनाविरुद्धको महासन्धि अनुमोदन गरे पनि संयुक्त राष्ट्रसंघको यातनाविरुद्धको समितिमा बुझाउनुपर्ने आवधिक प्रतिवेदन करिब दुई दशकदेखि पेश गर्न सकेको छैन। यसले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालमाथि प्रश्न उठ्ने तथा पीडितहरूले न्यायको अनुभूति गर्न नसक्ने अवस्था सिर्जना भएको आयोगले जनाएको छ।
यातनासम्बन्धी घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडितलाई उपचार, क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था सुनिश्चित गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने आयोगको जोड छ।
आयोगले नेपालको संविधानको धारा २२ अन्तर्गतको यातना विरुद्धको हक, यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३, मुलुकी अपराध संहिता, २०७४, राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ तथा नेपालले अनुमोदन गरेको सन् १९८४ को यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धिको कार्यान्वयन अवस्था कमजोर देखिएको उल्लेख गरेको छ।











