विद्यालयको रकम हिनामिनाको आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
१४ असार २०८३, आईतवार ११:५२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। उनलाई गत शुक्रबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।
उनलाई हात्तीगौंडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
शेर्पाले विद्यालयको कार्यकारी प्रमुखको रूपमा रहँदा विभिन्न सेटिङ गरेर व्यक्तिगत लाभ लिएर विद्यालयलाई हानी नोक्सानी पुर्याएको आशंकामा अनुसन्धान अघि बढेको हो। सीआईबीका अनुसार उनले सेटिङमा भक्तपुरको दधिकोटस्थित २९ रापनी ४ आना जग्गा आफ्नो स्वामित्व रहेको कम्पनीमा बिक्री गराएको भेटिएको छ।
सीआईबीले शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।











