बाह्रबिसे नगरपालिकाद्वारा पदाधिकारी गाडीभाडामै १७ लाख खर्च

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पदाधिकारी यातायात सुविधाको नाममा १७ लाख ३२ हजार ५०० रुपैयाँ मनपरी ढंगले खर्च गरेको भेटिएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा कानून विपरीत मनपरी ढंगले उक्त खर्च गरेको उल्लेख गरिएको छ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ (ख) मा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यले पाउने सुविधा सम्बन्धी व्यवस्थामा सवारी साधन उपलब्ध नभएको खण्डमा मात्रै गाडीभाडा बापत रुपैयाँ दिइने व्यवस्था छ।

उक्त व्यवस्था अनुसार वडाध्यक्षलाई प्रति महीना ४ हजार ५०० रुपैयाँ र कार्यपालिका सदस्य तथा वडा सदस्यलाई प्रति महीना २ हजार ५०० का दरले यातायात सुविधा उपलब्ध गराउने व्यवस्था रहेको छ।
तर बाह्रबिसे नगरपालिकाले भने नियमविपरीत ३८ जना पदाधिकारीलाई उक्त सुविधा दिएको पाइएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत महीनासम्म ९ महीनाको अवधिमै ऐनमा उल्लेखित व्यवस्था भन्दा बढी दरमा यातायात खर्च बापत १७ लाख ३२ हजार ५०० रुपैयाँ भुक्तानी दिइएको पाइएको छ। महालेखा परीक्षकले यसलाई कानून विपरीत र आवश्यकताभन्दा बढी खर्च दिइएको भन्दै उक्त रकम अनियमित भएको उल्लेख गरेको छ।











