बोतलभित्र छेपारो भेटिएपछि ऋषि जल उत्पादकलाई २ लाख जरिबाना, सबै बोतल बजारबाट फिर्ता गर्न निर्देशन

१५ असार २०८३, सोमबार १७:२८

काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्री गरिएको प्रशोधित पिउने पानीको बोतलभित्र छिपकिली (छेपारो) भेटिएपछि सम्बन्धित उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ।

ईलाका प्रशासन कार्यालय लाहानका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्री गरिएको के. वी. एण्ड सन्स नेपाल कम्पनीद्वारा उत्पादन तथा वितरण गरिएको ‘ऋषि जल’ ब्रान्डको पानीको बोतलभित्र छिपकिली रहेको भन्ने जनगुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा कम्पनीबाट उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी अनुचित व्यापारिक तथा व्यवसायजन्य गतिविधि भएको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले कम्पनीका सञ्चालकलाई बोलाएर सोही खराब ब्याचका ‘ऋषि जल’का सबै पानीका बोतल तत्काल बजारबाट फिर्ता लिन निर्देशन समेत दिएको छ। यसअघि पनि ऋषि जलको पानीको बोतलमा कीरा भेटिंदा कारवाहीमा परेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*