प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?

दिपक विष्ट
२५ असार २०८३, बिहीबार १९:०४

टिप्पणी

२०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले आफ्नै शरीरमा पेट्रोल खन्याए । आगोको ज्वाला उनको शरीर सल्कियो । त्यो आगो राज्यको चरम बेथिति, कुशासन, भ्रष्टाचार, कमिसनतन्त्र, आर्थिक अन्याय र नागरिकप्रतिको निर्मम उदासीनताविरुद्धको अन्तिम प्रतिरोध थियो । ति ब्यक्ति थिए प्रेम आचार्य । भोलिपल्ट अस्पतालको शय्यामा उनले अन्तिम सास फेरे ।

तर उनको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु थिएन । त्यो एउटा सपना मरेको दिन थियो । एउटा उद्यमी मरेको दिन थियो । एउटा बाबुको आशा, एउटा परिवारको आधार र एउटा नागरिकको विश्वास मरेको दिन थियो । त्यस दिनदेखि माघ १० नेपालको इतिहासमा केवल एउटा मिति रहेन यो राज्यले आफ्नै नागरिकलाई कति असहाय बनाउन सक्छ भन्ने भयावह स्मृतिको दिन बन्यो । त्यो दिनले देखायो—जब राज्यले आफ्ना नागरिकलाई बाँच्ने वातावरण दिन सक्दैन तब नागरिकले अन्तिम विकल्पका रूपमा मृत्यु रोज्न बाध्य हुन सक्छ ।

प्रेम आचार्य कुनै अपराधी थिएनन् । उनी देशमै केही गरौँ, उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ भन्ने सपना बोकेका एक संघर्षशील उद्यमी थिए । उनले कृषि र घ्यू उत्पादनको व्यवसाय थाले । उनले विदेश पलायन होइन, आफ्नै माटोमा पसिना बगाउने बाटो रोजे । तर उनले रोजेको बाटोमा राज्य साथ दिन आएन, उल्टै बोझ थप्दै गयो । बैंकको ऋण, चर्को ब्याज, गलत आर्थिक नीति, उधारोमा सामान बेच्नुपर्ने बाध्यता, भ्याट प्रणालीको जटिलता, ठूला व्यापारिक घरानाको दबाब र समयमै भुक्तानी नपाउँदाको पीडाले उनलाई दिनप्रतिदिन भित्रैबाट जलाइरहेको थियो । उनले आफ्नो अन्तिम पत्रमा राज्यलाई दोष दिए । उनले लेखे—साना व्यवसायीहरूलाई बचाउने कुनै नीति छैन । उनले फेसबुकमा आफूलाई भुक्तानी नदिने संस्था र व्यक्तिहरूको नाम लेखे । उनले करुण पुकार गरे । उनले न्याय मागे । तर उनको आवाज सुन्ने कोही भएन । अन्ततः उनले आफ्नै शरीरलाई विरोधको पोस्टर बनाए । एउटा यस्तो पोस्टर, जसलाई आगोले लेख्यो र जसको अक्षर आज पनि नेपाली समाजको चेतनामा धधकिरहेको छ ।

तर विडम्बना, इतिहासबाट सिक्नुपर्ने राज्यले इतिहास दोहोरियो । आज फेरि काठमाडौंले अर्को पीडादायी दृश्य देख्यो । फेरि एउटा युवकले आफ्नै शरीरमा पेट्रोल खन्यायो । फेरि आगो सल्कियो । अहिले समाजिक सञ्जाल भरिएको छ । तर एउटा प्रश्न फेरि उठ्यो ! किन? आखिर किन एउटा मानिस आफ्नो जीवनभन्दा मृत्यु सजिलो ठान्ने अवस्थामा पुग्छ ? यो केवल एउटा क्षणिक आवेग हो कि वर्षौँदेखि थुप्रिएको पीडाको विस्फोट ?

त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि भएको घटना एउटा सामान्य प्रशासनिक विवाद थिएन । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुरमा बस्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । उनी कुनै अपराधी थिएनन् । उनी दैनिक बिहान उठेर राइड सेयरिङ सेवा चलाउँथे ।यात्रु ओसार्थे ।पसिना बगाउँथे । साँझ कमाएको पैसाले परिवारको चुलो बाल्थे । उनले देश छोडेनन् । उनले विदेश जान लाखौँ ऋण खोजेनन् । उनले नेपालमै केही गरेर बाँच्ने सपना देखे । तर त्यो सपना पनि राज्यले सुरक्षित राख्न सकेन ।

घटनाको प्रारम्भिक विवरणले भन्छ यात्रु चढाउने वा ओराल्ने क्रममा केहीबेर मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्र भएको कारण ‘ह्वील लक’ लगाए । त्यसपछि विवाद भयो । तनाव बढ्यो र अन्ततः गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए र आगो लगाए । धेरै मानिसले यो घटनालाई केवल ‘ह्वील लक’सँग जोडेर हेर्नेछन् । तर यो घटना त्यति सानो होइन । एउटा मानिसले केवल एउटा चाबीले बन्द भएको मोटरसाइकलका कारण आफ्नो शरीर जलाउँदैन । उसलाई त्यहाँसम्म पु¥याउने हजारौँ अदृश्य घाउ हुन्छन् । त्यो आगोमा बेरोजगारी थियो । त्यो आगोमा आर्थिक अभाव थियो । त्यो आगोमा दैनिक अपमान थियो । त्यो आगोमा राज्यप्रतिको निराशा थियो । त्यो आगोमा भविष्य हराएको पीडा थियो ।

नेपालका सडकमा मोटरसाइकल चलाउने जो–कोहीलाई थाहा छ, ट्राफिक चेकिङमा उभिँदा कस्तो व्यवहार भोग्नुपर्छ । विशेषगरी राइड सेयरिङ चालकहरूका लागि त सडक केवल रोजगारीको ठाउँ होइन, दैनिक तनावको मैदान पनि बनेको छ । उनीहरूलाई ट्राफिकले अपराधीलाई जस्तो व्यवहार गरिन्छ । उनीहरू दिनभर यात्रु खोज्दै सडकमा हुन्छन् । कहिले ट्राफिकको हप्की, कहिले नगर प्रहरीको दबाब, कहिले यात्रुको गुनासो, कहिले कम्पनीको कमिसन, कहिले इन्धनको मूल्य । हरेक दिन उनीहरू एउटा अदृश्य मानसिक युद्ध लडिरहेका हुन्छन् । जब एउटै मानिसले दिनहुँ अपमान सहन्छ, दिनहुँ नियमको नाममा कडा व्यवहार भोग्छ, दिनहुँ आर्थिक अभाव झेल्छ, तब एउटा दिन उसको संयम टुट्न सक्छ । गणेश नेपालीको शरीरमा लागेको आगो सायद त्यही टुटेको संयमको ज्वाला थियो ।

मानिसहरू प्रायः भन्छन-यस्तो सानो कुरामा पनि आत्मदाह गर्ने? तर प्रश्न उल्टो हुनुपर्छ—कुन अवस्थाले एउटा मानिसलाई यस्तो ‘सानो कुरा’ पनि असह्य बनाइदिन्छ? मानसिक रूपमा निकै कमजोर, थकित र निराश अवस्थामा पुगेको मानिसका लागि बाहिरी एउटा सानो धक्का पनि अन्तिम धक्का बन्न सक्छ । सायद महानगरको कारबाही त्यो अन्तिम धक्का थियो । त्यसले उनको मनभित्र वर्षौँदेखि थुप्रिएको पीडाको बाँध फुटाइदियो । त्यसैले यो घटना केवल ‘ह्वील लक’को कथा होइन । यो एउटा समाजको कथा हो जहाँ मानिसहरू भित्रभित्रै चिच्याइरहेका छन् तर बाहिर कसैले सुन्दैन ।

आज नेपालमा प्लस टु पास गरेपछि लाखौँ युवाको पहिलो सपना विदेश हुन्छ । त्यो उनीहरूको रहर होइन, बाध्यता हो । किनभने उनीहरूले नेपालमा भविष्य देख्न छाडेका छन् । यहाँ पढे पनि बेरोजगारी छ । सीप भए पनि अवसर छैन । अवसर भए पनि पहुँच चाहिन्छ । पहुँच नभए पनि कम्तीमा सम्मान त चाहिन्छ, तर त्यो पनि छैन । परिवारहरूले लाखौँ ऋण खोजेर आफ्ना छोराछोरी विदेश पठाउँछन् । किन? किनभने उनीहरूलाई लाग्छ—नेपालमा बस्नु भनेको केवल संघर्ष गर्नु हो, अपमान सहनु हो, भविष्य गुमाउनु हो । विदेशमा कम्तीमा श्रमको मूल्य त पाइन्छ । नेपालमा श्रम गर्ने मानिसले सम्मानभन्दा बढी शंका र अपमान पाउँछ ।

तर सबै विदेश जान सक्दैनन् । केही युवाहरू अझै पनि यही देशमा सपना देख्छन् । उनीहरू बिहानै सडकमा निस्कन्छन् । पसिना बगाउँछन् । यात्रु ओसार्छन् । सामान बोक्छन् । पसल खोल्छन् । खेत जोत्छन् । उनीहरू यही देशलाई छोड्न चाहँदैनन् । तर राज्यले उनीहरूलाई के दिन्छ? नियमको कठोरता, प्रशासनको रुखोपन, करको बोझ, मूल्यवृद्धि, अनिश्चित भविष्य र अपमान ।

नियम आवश्यक हुन्छ । कानुनको पालना पनि हुनुपर्छ । तर कानुन लागू गर्ने क्रममा मानवता पनि हुनुपर्छ । कारबाही भनेको केवल दण्ड होइन, विवेक पनि हो । नियम भनेको केवल कागजमा लेखिएको अक्षर होइन, त्यसलाई लागू गर्ने मानिसको संवेदनशीलता पनि हो । बाध्यतामा भएको गल्ती र नियतपूर्वक गरिएको अपराधबीच फरक छुट्याउन सक्ने मानवीय दृष्टि राज्यसँग हुनुपर्छ ।

देशमा केही गरेर खान खोज्ने युवालाई राज्यले यस्तो अवस्थामा पु¥याउँछ कि उसले आफ्नो शरीरमै आगो लगाउन बाध्य हुन्छ भने त्यो केवल व्यक्तिगत असफलता होइन त्यो राज्यको नैतिक असफलता हो । प्रेम आचार्यले पनि मूलतः यही भनेका थिए—“मलाई बाँच्न देऊ, काम गर्न देऊ।” आज गणेश नेपालीको मौन चित्कार पनि त्यही हो – “मलाई इमानदार श्रम गरेर बाँच्न देऊ।” पात्र फरक भए, समय फरक भयो, तर पीडा उही रह्यो । त्यसैले प्रश्न उठ्छ—तीन वर्ष बित्दा पनि आखिर के परिवर्तन भयो ?

आज बजारमा मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । स्वास्थ्य महँगो छ । शिक्षा महँगो छ । घरभाडा प्रत्येक केही महिनामा बढिरहेको छ । बिजुली, कर, दैनिक उपभोगका वस्तु सबै महँगा भएका छन् । आम्दानी भने त्यही छ, कतिपयको त घटेको छ । गाउँमा रोजगारी छैन । त्यसैले मानिसहरू काठमाडौं आउँछन् । काठमाडौंमा आएपछि घरभाडा, महँगी, ट्राफिक, प्रशासनिक झन्झट र असुरक्षाबीच बाँच्नुपर्छ । अन्ततः उनीहरूलाई लाग्न थाल्छ—यो देशमा इमानदार भएर बाँच्नु नै सबैभन्दा ठूलो गल्ती रहेछ ।

यदि गाउँमै रोजगारी भएको भए गणेश नेपाली काठमाडौं आउँथे त? यदि गाउँमा उद्योग, कृषि, पूर्वाधार र अवसर भएको भए लाखौँ युवा राजधानीमा थुप्रिन्थे त? राज्यले नै गाउँ रित्तो बनायो । राज्यले नै अवसर केन्द्रित ग¥यो । अनि त्यही राजधानीमा आएर संघर्ष गर्ने मानिसलाई फेरि विभिन्न बहानामा काम गर्न नदिने अवस्था सिर्जना गरियो । यसले नागरिकलाई केवल आर्थिक रूपमा नभई मानसिक रूपमा पनि थिचिरहेको छ।

आज गणेश नेपाली अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । उनको शरीरमा लागेको आगो निभेको होला, तर समाजभित्र लागेको आगो अझै निभेको छैन । त्यो आगो हरेक बेरोजगार युवाको मनमा छ । हरेक ऋणमा डुबेको किसानको मनमा छ । हरेक साना व्यवसायीको मनमा छ । हरेक राइड सेयरिङ चालकको मनमा छ । हरेक श्रमिकको मनमा छ ।

कुनै पनि सभ्य राष्ट्रको सफलता अग्ला भवनले होइन, आफ्ना नागरिकले आत्मदाह गर्न नपर्ने अवस्थाले मापन हुन्छ । कुनै पनि सरकारको उपलब्धि भाषणले होइन, नागरिकको अनुहारमा देखिने आशाले प्रमाणित हुन्छ । जब नागरिकले मृत्युलाई जीवनभन्दा सजिलो ठान्न थाल्छ, तब त्यो सरकारको सबैभन्दा ठूलो असफलता हुन्छ । प्रेम आचार्यको आगोले दिएको चेतावनीलाई बेवास्ता गरियो । आज गणेश नेपालीको जलेको शरीरले फेरि त्यही प्रश्न दोहो-याएको छ—यो देशमा आखिर इमानदार भएर श्रम गर्ने मानिसले सम्मानपूर्वक बाँच्न पाउने कि नपाउने?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*