प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?

टिप्पणी
२०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले आफ्नै शरीरमा पेट्रोल खन्याए । आगोको ज्वाला उनको शरीर सल्कियो । त्यो आगो राज्यको चरम बेथिति, कुशासन, भ्रष्टाचार, कमिसनतन्त्र, आर्थिक अन्याय र नागरिकप्रतिको निर्मम उदासीनताविरुद्धको अन्तिम प्रतिरोध थियो । ति ब्यक्ति थिए प्रेम आचार्य । भोलिपल्ट अस्पतालको शय्यामा उनले अन्तिम सास फेरे ।
तर उनको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु थिएन । त्यो एउटा सपना मरेको दिन थियो । एउटा उद्यमी मरेको दिन थियो । एउटा बाबुको आशा, एउटा परिवारको आधार र एउटा नागरिकको विश्वास मरेको दिन थियो । त्यस दिनदेखि माघ १० नेपालको इतिहासमा केवल एउटा मिति रहेन यो राज्यले आफ्नै नागरिकलाई कति असहाय बनाउन सक्छ भन्ने भयावह स्मृतिको दिन बन्यो । त्यो दिनले देखायो—जब राज्यले आफ्ना नागरिकलाई बाँच्ने वातावरण दिन सक्दैन तब नागरिकले अन्तिम विकल्पका रूपमा मृत्यु रोज्न बाध्य हुन सक्छ ।
प्रेम आचार्य कुनै अपराधी थिएनन् । उनी देशमै केही गरौँ, उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ भन्ने सपना बोकेका एक संघर्षशील उद्यमी थिए । उनले कृषि र घ्यू उत्पादनको व्यवसाय थाले । उनले विदेश पलायन होइन, आफ्नै माटोमा पसिना बगाउने बाटो रोजे । तर उनले रोजेको बाटोमा राज्य साथ दिन आएन, उल्टै बोझ थप्दै गयो । बैंकको ऋण, चर्को ब्याज, गलत आर्थिक नीति, उधारोमा सामान बेच्नुपर्ने बाध्यता, भ्याट प्रणालीको जटिलता, ठूला व्यापारिक घरानाको दबाब र समयमै भुक्तानी नपाउँदाको पीडाले उनलाई दिनप्रतिदिन भित्रैबाट जलाइरहेको थियो । उनले आफ्नो अन्तिम पत्रमा राज्यलाई दोष दिए । उनले लेखे—साना व्यवसायीहरूलाई बचाउने कुनै नीति छैन । उनले फेसबुकमा आफूलाई भुक्तानी नदिने संस्था र व्यक्तिहरूको नाम लेखे । उनले करुण पुकार गरे । उनले न्याय मागे । तर उनको आवाज सुन्ने कोही भएन । अन्ततः उनले आफ्नै शरीरलाई विरोधको पोस्टर बनाए । एउटा यस्तो पोस्टर, जसलाई आगोले लेख्यो र जसको अक्षर आज पनि नेपाली समाजको चेतनामा धधकिरहेको छ ।
तर विडम्बना, इतिहासबाट सिक्नुपर्ने राज्यले इतिहास दोहोरियो । आज फेरि काठमाडौंले अर्को पीडादायी दृश्य देख्यो । फेरि एउटा युवकले आफ्नै शरीरमा पेट्रोल खन्यायो । फेरि आगो सल्कियो । अहिले समाजिक सञ्जाल भरिएको छ । तर एउटा प्रश्न फेरि उठ्यो ! किन? आखिर किन एउटा मानिस आफ्नो जीवनभन्दा मृत्यु सजिलो ठान्ने अवस्थामा पुग्छ ? यो केवल एउटा क्षणिक आवेग हो कि वर्षौँदेखि थुप्रिएको पीडाको विस्फोट ?
त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि भएको घटना एउटा सामान्य प्रशासनिक विवाद थिएन । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुरमा बस्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । उनी कुनै अपराधी थिएनन् । उनी दैनिक बिहान उठेर राइड सेयरिङ सेवा चलाउँथे ।यात्रु ओसार्थे ।पसिना बगाउँथे । साँझ कमाएको पैसाले परिवारको चुलो बाल्थे । उनले देश छोडेनन् । उनले विदेश जान लाखौँ ऋण खोजेनन् । उनले नेपालमै केही गरेर बाँच्ने सपना देखे । तर त्यो सपना पनि राज्यले सुरक्षित राख्न सकेन ।
घटनाको प्रारम्भिक विवरणले भन्छ यात्रु चढाउने वा ओराल्ने क्रममा केहीबेर मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्र भएको कारण ‘ह्वील लक’ लगाए । त्यसपछि विवाद भयो । तनाव बढ्यो र अन्ततः गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए र आगो लगाए । धेरै मानिसले यो घटनालाई केवल ‘ह्वील लक’सँग जोडेर हेर्नेछन् । तर यो घटना त्यति सानो होइन । एउटा मानिसले केवल एउटा चाबीले बन्द भएको मोटरसाइकलका कारण आफ्नो शरीर जलाउँदैन । उसलाई त्यहाँसम्म पु¥याउने हजारौँ अदृश्य घाउ हुन्छन् । त्यो आगोमा बेरोजगारी थियो । त्यो आगोमा आर्थिक अभाव थियो । त्यो आगोमा दैनिक अपमान थियो । त्यो आगोमा राज्यप्रतिको निराशा थियो । त्यो आगोमा भविष्य हराएको पीडा थियो ।
नेपालका सडकमा मोटरसाइकल चलाउने जो–कोहीलाई थाहा छ, ट्राफिक चेकिङमा उभिँदा कस्तो व्यवहार भोग्नुपर्छ । विशेषगरी राइड सेयरिङ चालकहरूका लागि त सडक केवल रोजगारीको ठाउँ होइन, दैनिक तनावको मैदान पनि बनेको छ । उनीहरूलाई ट्राफिकले अपराधीलाई जस्तो व्यवहार गरिन्छ । उनीहरू दिनभर यात्रु खोज्दै सडकमा हुन्छन् । कहिले ट्राफिकको हप्की, कहिले नगर प्रहरीको दबाब, कहिले यात्रुको गुनासो, कहिले कम्पनीको कमिसन, कहिले इन्धनको मूल्य । हरेक दिन उनीहरू एउटा अदृश्य मानसिक युद्ध लडिरहेका हुन्छन् । जब एउटै मानिसले दिनहुँ अपमान सहन्छ, दिनहुँ नियमको नाममा कडा व्यवहार भोग्छ, दिनहुँ आर्थिक अभाव झेल्छ, तब एउटा दिन उसको संयम टुट्न सक्छ । गणेश नेपालीको शरीरमा लागेको आगो सायद त्यही टुटेको संयमको ज्वाला थियो ।
मानिसहरू प्रायः भन्छन-यस्तो सानो कुरामा पनि आत्मदाह गर्ने? तर प्रश्न उल्टो हुनुपर्छ—कुन अवस्थाले एउटा मानिसलाई यस्तो ‘सानो कुरा’ पनि असह्य बनाइदिन्छ? मानसिक रूपमा निकै कमजोर, थकित र निराश अवस्थामा पुगेको मानिसका लागि बाहिरी एउटा सानो धक्का पनि अन्तिम धक्का बन्न सक्छ । सायद महानगरको कारबाही त्यो अन्तिम धक्का थियो । त्यसले उनको मनभित्र वर्षौँदेखि थुप्रिएको पीडाको बाँध फुटाइदियो । त्यसैले यो घटना केवल ‘ह्वील लक’को कथा होइन । यो एउटा समाजको कथा हो जहाँ मानिसहरू भित्रभित्रै चिच्याइरहेका छन् तर बाहिर कसैले सुन्दैन ।
आज नेपालमा प्लस टु पास गरेपछि लाखौँ युवाको पहिलो सपना विदेश हुन्छ । त्यो उनीहरूको रहर होइन, बाध्यता हो । किनभने उनीहरूले नेपालमा भविष्य देख्न छाडेका छन् । यहाँ पढे पनि बेरोजगारी छ । सीप भए पनि अवसर छैन । अवसर भए पनि पहुँच चाहिन्छ । पहुँच नभए पनि कम्तीमा सम्मान त चाहिन्छ, तर त्यो पनि छैन । परिवारहरूले लाखौँ ऋण खोजेर आफ्ना छोराछोरी विदेश पठाउँछन् । किन? किनभने उनीहरूलाई लाग्छ—नेपालमा बस्नु भनेको केवल संघर्ष गर्नु हो, अपमान सहनु हो, भविष्य गुमाउनु हो । विदेशमा कम्तीमा श्रमको मूल्य त पाइन्छ । नेपालमा श्रम गर्ने मानिसले सम्मानभन्दा बढी शंका र अपमान पाउँछ ।
तर सबै विदेश जान सक्दैनन् । केही युवाहरू अझै पनि यही देशमा सपना देख्छन् । उनीहरू बिहानै सडकमा निस्कन्छन् । पसिना बगाउँछन् । यात्रु ओसार्छन् । सामान बोक्छन् । पसल खोल्छन् । खेत जोत्छन् । उनीहरू यही देशलाई छोड्न चाहँदैनन् । तर राज्यले उनीहरूलाई के दिन्छ? नियमको कठोरता, प्रशासनको रुखोपन, करको बोझ, मूल्यवृद्धि, अनिश्चित भविष्य र अपमान ।
नियम आवश्यक हुन्छ । कानुनको पालना पनि हुनुपर्छ । तर कानुन लागू गर्ने क्रममा मानवता पनि हुनुपर्छ । कारबाही भनेको केवल दण्ड होइन, विवेक पनि हो । नियम भनेको केवल कागजमा लेखिएको अक्षर होइन, त्यसलाई लागू गर्ने मानिसको संवेदनशीलता पनि हो । बाध्यतामा भएको गल्ती र नियतपूर्वक गरिएको अपराधबीच फरक छुट्याउन सक्ने मानवीय दृष्टि राज्यसँग हुनुपर्छ ।
देशमा केही गरेर खान खोज्ने युवालाई राज्यले यस्तो अवस्थामा पु¥याउँछ कि उसले आफ्नो शरीरमै आगो लगाउन बाध्य हुन्छ भने त्यो केवल व्यक्तिगत असफलता होइन त्यो राज्यको नैतिक असफलता हो । प्रेम आचार्यले पनि मूलतः यही भनेका थिए—“मलाई बाँच्न देऊ, काम गर्न देऊ।” आज गणेश नेपालीको मौन चित्कार पनि त्यही हो – “मलाई इमानदार श्रम गरेर बाँच्न देऊ।” पात्र फरक भए, समय फरक भयो, तर पीडा उही रह्यो । त्यसैले प्रश्न उठ्छ—तीन वर्ष बित्दा पनि आखिर के परिवर्तन भयो ?
आज बजारमा मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । स्वास्थ्य महँगो छ । शिक्षा महँगो छ । घरभाडा प्रत्येक केही महिनामा बढिरहेको छ । बिजुली, कर, दैनिक उपभोगका वस्तु सबै महँगा भएका छन् । आम्दानी भने त्यही छ, कतिपयको त घटेको छ । गाउँमा रोजगारी छैन । त्यसैले मानिसहरू काठमाडौं आउँछन् । काठमाडौंमा आएपछि घरभाडा, महँगी, ट्राफिक, प्रशासनिक झन्झट र असुरक्षाबीच बाँच्नुपर्छ । अन्ततः उनीहरूलाई लाग्न थाल्छ—यो देशमा इमानदार भएर बाँच्नु नै सबैभन्दा ठूलो गल्ती रहेछ ।
यदि गाउँमै रोजगारी भएको भए गणेश नेपाली काठमाडौं आउँथे त? यदि गाउँमा उद्योग, कृषि, पूर्वाधार र अवसर भएको भए लाखौँ युवा राजधानीमा थुप्रिन्थे त? राज्यले नै गाउँ रित्तो बनायो । राज्यले नै अवसर केन्द्रित ग¥यो । अनि त्यही राजधानीमा आएर संघर्ष गर्ने मानिसलाई फेरि विभिन्न बहानामा काम गर्न नदिने अवस्था सिर्जना गरियो । यसले नागरिकलाई केवल आर्थिक रूपमा नभई मानसिक रूपमा पनि थिचिरहेको छ।
आज गणेश नेपाली अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । उनको शरीरमा लागेको आगो निभेको होला, तर समाजभित्र लागेको आगो अझै निभेको छैन । त्यो आगो हरेक बेरोजगार युवाको मनमा छ । हरेक ऋणमा डुबेको किसानको मनमा छ । हरेक साना व्यवसायीको मनमा छ । हरेक राइड सेयरिङ चालकको मनमा छ । हरेक श्रमिकको मनमा छ ।
कुनै पनि सभ्य राष्ट्रको सफलता अग्ला भवनले होइन, आफ्ना नागरिकले आत्मदाह गर्न नपर्ने अवस्थाले मापन हुन्छ । कुनै पनि सरकारको उपलब्धि भाषणले होइन, नागरिकको अनुहारमा देखिने आशाले प्रमाणित हुन्छ । जब नागरिकले मृत्युलाई जीवनभन्दा सजिलो ठान्न थाल्छ, तब त्यो सरकारको सबैभन्दा ठूलो असफलता हुन्छ । प्रेम आचार्यको आगोले दिएको चेतावनीलाई बेवास्ता गरियो । आज गणेश नेपालीको जलेको शरीरले फेरि त्यही प्रश्न दोहो-याएको छ—यो देशमा आखिर इमानदार भएर श्रम गर्ने मानिसले सम्मानपूर्वक बाँच्न पाउने कि नपाउने?











