भोटेकोशी बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ पर्यटक सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार १६:३९

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डको दोस्रो स्थिति अपडेटअनुसार प्रभावित क्षेत्रमा काम गरिरहेका पर्यटन तथा ट्राभल एजेन्सीहरूले उपलब्ध गराएको विवरणका आधारमा प्रारम्भिक सूची तयार गरिएको हो। सूचीमा रहेका पर्यटक तथा पदयात्रीको वास्तविक अवस्था भने अझै रुजु भइरहेको बोर्डले जनाएको छ।

बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो। बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै सडक, पुल तथा सञ्चार सम्पर्कमा समेत असर गरेको छ। बाढीको प्रभाव पछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ।

प्रारम्भिक सूचीमा रहेका २९१ विदेशी नागरिक भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकालगायत देशका छन्। तीमध्ये भारतका मात्रै १०५ जना रहेको विवरणमा उल्लेख छ। केही विदेशी पर्यटकको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी छ।

कुन एजेन्सीका कति पर्यटक सम्पर्कविहीन ?

पर्यटन तथा ट्राभल एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीसँग सम्बन्धित ९२ जना सम्पर्कविहीन छन्। त्यस्तै सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, लिफ होलिडेका ५५ र हिमालयन ग्लेशियरका ५२ जना सूचीमा छन्।

कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ र एक्सप्लोर भ्याकेसनका ७ जना पनि सम्पर्कविहीनको प्रारम्भिक सूचीमा छन्।

पर्यटन बोर्डले यो तथ्यांक प्रारम्भिक भएकाले अन्तिम नभएको स्पष्ट पारेको छ। ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर विवरण रुजु गर्ने काम भइरहेको छ।

कैलाश भिजन ट्रेकका सन्देश आचार्यका अनुसार दर्ता भएका बाहेक दर्ता नभई सञ्चालित विभिन्न ट्रेकिङबाट समेत गएका थप २०० जना मानिसहरु उक्त स्थान रहेका थिए । हिजो साँझ टिमुरेमा रहेका होटलका सबै कोठाहरु प्याक थिए । त्यहाँ यात्रुहरु बस्ने ठाउँ नभएर स्याप्रु बेसी झरेर समेत बास बसेको जानकारी प्राप्त भएको छ । स्याप्रुबेसीदेखि रसुवा भन्सार कार्यालयसम्म करिब एक हजार यात्रु तथा पदयात्रीहरु रहेको अनुमान गरिएको छ । ति मध्ये धेरैलाई बगाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*