जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ९ खर्ब १२ अर्बः नेपाल लाइफको अग्रता कायमै, अन्य कम्पनीको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन बीमा कम्पनीहरूले आफ्नो लगानीको दायरालाई थप फराकिलो बनाउँदै वित्तीय बजारमा आफ्नो पकड मजबुत बनाएका छन्। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा १५.२६ प्रतिशतले वृद्धि भई ९ खर्ब ११ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी कुल ७ खर्ब ९१ अर्ब २६ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
बीमा कम्पनीहरूको लगानीको मुख्य आधार मानिने दीर्घकालीन लगानीमा यस वर्ष उत्साहजनक सुधार देखिएको छ। २०८३ असार मसान्तसम्ममा कम्पनीहरूले कुल ६ खर्ब ६५ अर्ब ५४ करोड २८ लाख रुपैयाँ दीर्घकालीन क्षेत्रमा परिचालन गरेका छन् जुन अघिल्लो वर्षको तुलनामा ६.६५ प्रतिशतको वृद्धि हो ।
दीर्घकालीन लगानीका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बजार हिस्सालाई सुरक्षित राख्दै २ खर्ब ११ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ लगानी गरी शीर्ष स्थान ओगटेको छ । यसैगरी एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र हिमाललयन लाइफ क्रमशः ७९ अर्ब ८३ करोड ६० लाख, ७७ अर्ब ८६ करोड ७० लाख र ४९ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ लगानीका साथ दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

यता सूर्यज्योति लाइफले ४८ अर्ब ९ करोड ५६ लाख, एशियन लाइफले ३७ अर्ब ३ करोड ५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ३४ अर्ब ८८ करोड २९ लाख, सिटिजन लाइफले २४ अर्ब ३६ करोड ४७ लाख, रिलायबल नेपालले २३ अर्ब ८७ करोड ९० लाख, मेटलाइफले २१ अर्ब ३६ करोड २७ लाख, आइएमई लाइफले १५ अर्ब ४२ करोड २२ लाख, सानिमा रिलायन्सले १४ अर्ब ८१ करोड ९८ लाख, सन नेपालले १३ अर्ब ४९ करोड ९८ लाख र प्रभु महालक्ष्मीले १३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्रतिशतका आधारमा हेर्ने हो भने राष्ट्रिय जीवन बीमा कम्पनी र सूर्यज्योति लाइफले आफ्नो दीर्घकालीन लगानीमा क्रमशः ५७.२७ र ४८.१६ प्रतिशतको उच्च वृद्धि गरेका छन् । यद्यपि एलआइसी नेपाल, मेट लाइफ र हिमालयन लाइफको दीर्घकालीन लगानीमा भने अघिल्लो वर्षको तुलनामा क्रमशः १४.४५ प्रतिशत, १४.१८ प्रतिशत र ४.३४ प्रतिशतको गिरावट आएको छ ।
छोटो अवधिको प्रतिफल दिने अल्पकालीन लगानीमा भने जीवन बीमा कम्पनीहरू निकै आक्रामक देखिएका छन्। समीक्षा अवधिमा अल्पकालीन लगानी ४७.३७ प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस क्षेत्रमा एलआइसी नेपाल ५१ अर्ब ६६ करोड ११ लाख रुपैयाँ लगानीका साथ पहिलो स्थानमा रहेको छ भने नेपाल लाइफ र हिमालयन लाइफ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यता सन नेपाल लाइफले आफ्नो अल्पकालीन लगानीमा १६१.७९ प्रतिशतको वृद्धि गरेको छ भने नेशनल लाइफ, एलआइसी नेपाल र आइएमई लाइफको वृद्धि पनि १०० प्रतिशतभन्दा माथि रहेको छ। यद्यपि दुई कम्पनीहरू प्रभु महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफले अल्पकालीन लगानी क्रमशः ५५ र ४८.९१ प्रतिशतले घटाएका छन् ।










