गणेशको मृत्युपछि वीर अस्पताल परिसरमा भीड, सुरक्षा कडा

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालका चिकित्सकले शुक्रबार बिहान ११ः१९ बजे उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको खबर सार्वजनिक भएपछि वीर अस्पताल परिसरमा आफन्त, चिनेजानेका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति बढ्न थालेको छ। अस्पताल बाहिर भीड बढ्दै गएपछि सम्भावित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपालीले बिहीबार दिउँसो राहदानी विभागको मुख्य प्रवेशद्वार नजिकै आफ्नै शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाएका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल भर्ना गरिएको थियो।
घटनाको कारण र आत्मदाह प्रयास गर्नुपर्ने अवस्थाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकका आफन्त पनि अस्पताल पुगेका छन् भने अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।











