सर्लाही मालपोतका नासु घुस सहित रंगेहात पक्राउ
२० कार्तिक २०८३, शुक्रबार ११:४०

काठमाडौं । सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवामा कार्यरत नायब सुब्बा (नासु) निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार तिमलसिनाले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित कात्तिक १८ गते भूमि प्रशासन कार्यालयबाट पक्राउ परेका हुन्।
उनीमाथि घुस लिएको आरोपमा विशेष अदालतको आदेशअनुसार कात्तिक १९ गते म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।











