नेपाल राष्ट्र बैंकका १३ औं नम्वरका कार्यकारी निर्देशक बने बीमा प्राधिकरणका अध्यक्ष, को हुन थापा ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको हिजो बसेको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा राजन विक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकमा १३ औं नम्वरका कार्यकारी निर्देशक थापालाई अध्यक्षमा नियुक्त गरेसँगै लामो समयदेखि अध्यक्ष विहिन भएको बीमा प्राधिकरणले नेतृत्व पाउन सफल भएको छ ।
नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेका थापा बैंकिङ नियमन, वित्तीय संस्थाको सुपरिवेक्षण, जोखिम व्यवस्थापन र संस्थागत सुशासनका अनुभवी व्यक्ति हुन् । २०५३ सालमा सहायक पदबाट नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थापा ३० बर्ष अवधीका कारण आगामी चैत्रमा अवकासमा जाँदै थिए । २०८२ साल कार्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थापा त्यसको एक बर्षपछि कार्तिक १७ गतेको निर्णय अनुसार बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् । थापासँग बीमा नियमनको अनुभव भने खासै छैन ।
थापाले रष्ट्र बैंकमा वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, कर्पोरेट योजना र जोखिम व्यवस्थापनलगायतका विभागमा काम गरिसकेका छन्। उनले राष्ट्र बैंकको वीरगञ्ज कार्यालयमा निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

थापा बैंकिङ क्षेत्रमा मात्र सीमित छैनन्। उनले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिमा सदस्य भएर काम गरेका थिए । त्यहाँ उनले लगानी समितिको संयोजकको अतिरिक्त जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिमा पनि सदस्य तथा लगानी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
जोखिम व्यवस्थापन, लगानी नीति, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण र नियामकीय अनुपालनजस्ता विषयमा उनको अनुभव रहेको छ । उनले एमफिलदेखि पीएचडीसम्म अध्ययन गरेका छन् । थापाले व्यवस्थापन, अर्थशास्त्र र कानुन विषयमा उच्च शिक्षा हासिल गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१३ मा व्यवस्थापन विषयमा एमफिल पूरा गरेका हुन् । एमफिलमा उनले ३.८६ सीजीपीए प्राप्त गरेका छन् ।

त्यस्तै, पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर, एमबिए पूरा गरेका छन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (एलएलबी) समेत गरेका छन् ।
उनले भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् । नेपाली बैंकहरूमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव उनको अनुसन्धानको विषय हो । उक्त पीएचडी उपाधिको समकक्षता त्रिभुवन विश्वविद्यालयमा मूल्यांकनको प्रक्रियामा रहेको उनको बायोडाटामा उल्लेख छ ।
विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा सेमिनारहरुमा सक्रिय सहभागी भएका थापा बैंकिङ क्षेत्रमा प्रभावकारी नियमन गर्न सक्ने अधिकारीको परिचय बनाएका व्यक्ति हुन् । थापा बैंकिङ तथा व्यवस्थापनसम्बन्धी पुस्तक लेखन र अनुसन्धानमा समेत सक्रिय छन् । उनले डीबी रावलसँग सहलेखन गरेको ‘प्रिन्सिपल्स एन्ड प्राक्टिसेज अफ नेपालीज बैंकिङ’ पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । उक्त पुस्तकले सन् २०१० मा सम्मान बैंकिङ अवार्ड प्राप्त गरेको थियो । त्यसैगरी पीआर पन्तसँग सहलेखन गरेको ‘प्रिन्सिपल्स अफ म्यानेजमेन्ट’ पुस्तक सन् २०१० मा प्रकाशित भएको थियो।
उनका नेपाल राष्ट्र बैंकका विभिन्न प्रकाशन तथा अन्य जर्नलहरूमा सयभन्दा बढी विश्लेषणात्मक तथा अनुसन्धानमूलक लेख प्रकाशित भएका छन् । व्यवस्थापन शिक्षण क्षेत्रमा पनि उनीसँग १० वर्षभन्दा बढीको अनुभव रहेको छ ।












