राष्ट्रिय वाणिज्य बैंक अत्तरिया शाखामा भद्रगोलः साँघुरो कोठामा खचाखच सेवाग्राही, घण्टौँ सास्ती

दिपक विष्ट
२० कार्तिक २०८३, शुक्रबार ११:०३

अत्तरिया । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कैलालीस्थित अत्तरिया शाखाको भद्रगोल अवस्थाका कारण सेवाग्राहीले बैंकिङ सेवा पाउन कठिनाइ भोग्नुपरेको छ । अत्तरियाको मुख्य बजार क्षेत्रमा रहेको बैंकको शाखा कार्यालयमा दैनिक हजारौँ सेवाग्राही पुग्ने गरे पनि कार्यालयको भौतिक संरचना, व्यवस्थापन र सेवा प्रवाहको अवस्था भने अस्तव्यस्त देखिएको हो ।

सीमित कोठा, साँघुरो सेवास्थल, पर्याप्त काउन्टर सञ्चालन नहुनु र सेवाग्राहीको चाप व्यवस्थापन गर्न नसक्दा बैंकमा सामान्य कामका लागि समेत घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

बैंकमा ग्राहकको चाप दिनप्रतिदिन बढ्दै गए पनि त्यसअनुसार कार्यालयको पूर्वाधार र सेवा सुविधामा सुधार गर्ने नसक्दा बैंकको अवस्था नै भद्रगोल देखिएको छ । एउटै साँघुरो कोठाभित्र अधिकांश बैंकिङ सेवा सञ्चालन भइरहेका छन् । कोठाभित्र सेवाग्राहीको आवतजावत गर्नसमेत कठिन हुने अवस्था छ भने बस्ने त परै जाओस्, उभिएर खुट्टा राख्ने ठाउँसमेत पर्याप्त छैन । बैंकिङ कारोबारका लागि आउने वृद्धवृद्धा, अशक्त तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूले यस्तो अव्यवस्थित वातावरणमा थप कठिनाइ भोग्नुपरेको छ ।

कार्यालयभित्र राखिएका कतिपय सामग्रीसमेत पुराना र जीर्ण अवस्थामा देखिन्छन् । सेवाग्राहीको चाप, उपलब्ध भौतिक संरचना र सेवा प्रवाहबीच कुनै तालमेल देखिँदैन । आधुनिक बैंकिङ सेवाको अपेक्षा राखेर बैंक पुग्ने ग्राहकले कार्यालयको अवस्था देख्दा नै असहज महसुस गर्नुपर्ने स्थिति छ । बैंकको नाम र प्रतिष्ठाअनुसार सेवाग्राहीमैत्री वातावरण निर्माण हुन नसक्नु व्यवस्थापकीय कमजोरीको उदाहरणका रूपमा देखिएको छ ।

विशेषगरी चाडपर्वको समयमा बैंकमा सेवाग्राहीको चाप अत्यधिक बढ्ने गरेको छ । अहिले तिहार नजिकिँदै गर्दा तलब, भत्ता, रकम निकासा, चेक सटही तथा अन्य आर्थिक कारोबारका लागि बैंक पुग्नेको संख्या उल्लेख्य छ ।

तर, सेवाग्राहीको चापअनुसार कर्मचारी परिचालन र काउन्टर व्यवस्थापन हुन नसक्दा सामान्य चेक साट्नसमेत करिब दुई, तिन घण्टाभन्दा बढी समय लाइनमा बस्नुपर्ने अवस्था रहेको छ । आफ्नो सामान्य बैंकिङ काम सम्पन्न गर्न दिनको महत्वपूर्ण समय खर्चिनुपर्ने भएपछि सेवाग्राही बैंक व्यवस्थापनप्रति असन्तुष्ट बनेका छन् ।

बैंकको शाखामा तीनवटा काउन्टरको व्यवस्था भए पनि सबै काउन्टर नियमित रूपमा सञ्चालनमा नआउने गरेको सेवाग्राहीको गुनासो छ । प्रायः एक वा दुईवटा काउन्टर मात्रै सञ्चालन हुँदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ ।

बैंकमा देखिएको अव्यवस्थाको प्रत्यक्ष मार सेवाग्राहीले खेपिरहेका छन् । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा बसोबास गर्ने भीम बोहरा पनि बैंकको सेवा लिन बिहानै पुगेका थिए । बैंकमा हुने भीडभाडबारे जानकार भएकाले काम छिटो होला भन्ने अपेक्षासहित उनी बिहान ९ः३० बजे नै शाखा कार्यालय पुगे । बोहराले भने, “यस्तै भीडभाड हुन्छ भनेर म बिहान ९ः३० तिर पुगेको हो । अहिले ११ बजिसक्यो, तर अझै मेरो पालो आउन ८५ टोकन बाँकी छ । बैंकले सही व्यवस्थापन नगर्दा हामीले दुःख पायौँ ।”

अर्का सेवाग्राही आयुष बिष्टको अनुभव पनि उस्तै छ । उनी आफ्ना बुबाको तलब बुझ्न दिउसो १२ बजे बैंक पुगेका थिए । बैंकमा प्रवेश गरेर टोकन लिँदा उनको नम्बर ३४५ थियो भने त्यतिबेला १९७ नम्बरको सेवा भइरहेको थियो । अर्थात्, आफ्नो पालो आउन अझै धेरै समय कुर्नुपर्ने अवस्था थियो । अन्ततः उनी दिउँसो ३ बजेतिर मात्रै आफ्नो काम सकेर बैंकबाट बाहिरिए ।

बैंकको अव्यवस्थित सेवा प्रवाहले केवल चेक सटही र रकम निकासामा मात्रै समस्या सिर्जना गरेको छैन अन्य बैंकिङ सेवासमेत प्रभावित बनेका छन् । खाता खोल्ने, कर्जा लिन आवश्यक प्रक्रिया पूरा गर्ने तथा अन्य वित्तीय सेवा लिन चाहने ग्राहकले समेत पर्याप्त समय र सहज सेवा पाउन नसकेको गुनासो गरेका छन् । चाडपर्वको समयमा कारोबारको चाप उच्च हुने भए पनि त्यसलाई व्यवस्थापन गर्न पूर्वतयारी गर्नुपर्ने बैंकले त्यसअनुसार जनशक्ति, काउन्टर र सेवा प्रवाहको व्यवस्था गर्न सकेको छैन ।

विशेषगरी ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीका लागि बैंकको अवस्था थप कष्टकर बनेको छ । लामो समयसम्म उभिएर लाइन बस्नुपर्ने, साँघुरो कोठाभित्र भीडको सामना गर्नुपर्ने र आफ्नो पालो पर्खिन घण्टौँ खर्चिनुपर्ने बाध्यताले उनीहरूलाई थप सास्ती दिएको छ । बैंकिङ सेवा सबै वर्गका नागरिकका लागि पहुँचयोग्य र सहज हुनुपर्ने भए पनि अत्तरिया शाखाको भौतिक अवस्था तथा व्यवस्थापनले त्यसको अनुभूति गराउन सकेको छैन ।

यस विषयमा अत्तरिया शाखा कार्यालयसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*