सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?

२८ असार २०८३, आईतवार १५:२८

काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध गराउँदै आएका कर्जामा उल्लेखनीय वृद्धि देखिएको हो ।
बैंकहरूले ३ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा दिने प्रावधान ल्याएपछि धेरै नागरिक आफैंले घर बनाउने सपना पुरा गर्न बैंकको ढोका ढकढकाउन थालेका छन् । सस्तो ब्याजदर र आवश्यक कागजात पेस गरेर सहजै कर्जा लिन सकिने प्रणालीका कारण पनि यो प्रवृत्ति बढेको हो । अब धेरैले घर बनाउन वा किन्ने सोच राख्नासाथ पहिला बैंकको योजना अध्ययन गर्न थालेका छन् ।

बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको वर्तमान अवस्थामा कर्जा प्रवाह सहज भएको हो । हाल बैंकहरूले निक्षेपमा तिर्दै आएको ब्याजदर घटेका कारण कर्जाको लागत घटेको छ । यसले गर्दा घर कर्जामा लगाइने ब्याजदर पनि घटेको छ । सस्तो ब्याजदरका कारण कर्जाको किस्ता व्यवस्थापन गर्न सहज भएका कारण मानिसहरू आफूले भोगचलन गर्ने घर किन्ने वा बनाउनेतर्फ अग्रसर भएका छन् । बैंकहरूले प्रतिस्पर्धात्मक रूपमा विभिन्न आकर्षक योजना ल्याइरहेका छन् । एकल अंकमा सीमित ब्याजदर, स्थायी ब्याजदर योजना, निर्माण सम्पन्न हुनुअघि किस्ता नतिर्नु पर्नेजस्ता सुविधाहरूले नागरिकलाई बैंक कर्जामार्फत घर बनाउन थप प्रेरित बनाएको छ । यसले कर्जा बजारमा प्रतिस्पर्धा बढाएको छ भने बैंकहरूको खुद कर्जा प्रवाहमा पनि सकारात्मक असर परेको छ ।

चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब ६३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.१८ प्रतिशत अर्थात् ३६ अर्ब ५२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ११ महिनासम्ममा बैंकहरुले ३ खर्ब २६ अर्ब ७२ करोड ६० लाख रुपैयाँ घर कर्जा दिएका हुन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा व्यक्तिगत घर बनाउनका लागि सर्वाधिक कर्जा दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ४७ अर्ब १५ करोड ८० लाख कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.३५ प्रतिशतले बढी हो ।

सर्वाधिक ब्यक्तिगत घर कर्जा दिने दोसा्रे नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा बैंकले ब्यक्तिगत घर कर्जा १८.०२ प्रतिशतले घटाएपनि ३९ अर्ब १६ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले समिक्षा अवधिसम्ममा ब्यक्तिगत घर कर्जा मार्फत ३४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ दिएको छ ।

नबिल बैंकको ब्यक्तिगत घर कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.२० प्रतिशतले बढेर ३१ अर्ब ३६ करोड, एभरेष्ट बैंकको १४.२८ प्रतिशतले बढेर २६ अर्ब ५२ करोड, एनएमबि बैंकको ३४.५१ प्रतिशतले बढेर २४ अर्ब, लक्ष्मी सनराइज बैंकको १६.२६ प्रतिशतले बढेर २१ अर्ब २१ करोड, सिद्धार्थ बैंकको ३७ प्रतिशतले बढेर १९ अर्ब ९३ करोड, प्रभु बैंकको ७.१५ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड, सानिमा बैंकको २९ प्रतिशतले बढेर १३ अर्ब ५९ करोड, नेपाल बैंकको १८.१४ प्रतिशतले बढेर १३ अर्ब ४१ करोड र सिटिजन्स बैंकको ६.६६ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो ।

व्यक्तिगत घर बनाउनका लागि कुमारी बैंकले ११ अर्ब ५१ करोड, प्राइम बैंकले १० करोड १३ लाख, स्टान्र्डड चार्टडले ९ अर्ब ७८ करोड, कृषि विकास बैंकले ९ अर्ब ७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ अर्ब ९० करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब २४ करोड, हिमालयन बैंकले ५ अर्ब ७१ करोड र नेपाल एसबिआई बैंकले ३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

वाणिज्य बैंकहरूको बेस रेटमा लगातार गिरावट, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*