कर्णालीमा विद्युत् अवरोध समाधान गर्न यान्त्रिक क्रेन पठाइने

२९ असार २०८३, सोमबार ११:१४

काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा पटक–पटक हुने विद्युत् अवरोधको समस्या समाधान गर्न आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा उक्त निर्णय गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या तथा मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावलाई मध्यनजर गर्दै निर्णय गरिएको हो।

मन्त्री श्रेष्ठले दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनका क्रममा सुर्खेतसहित कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा भइरहेको समस्या र मर्मतका लागि आवश्यक उपकरणको अभावबारे जानकारी लिएका थिए। सो क्रममा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले यान्त्रिक क्रेन अभावका कारण मर्मत कार्य प्रभावित भइरहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

काठमाडौँ फर्किएलगत्तै मन्त्री श्रेष्ठले आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेका थिए। आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशमा पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*