व्यापार र नाफा दुवैमा सर्वोत्तम सिमेन्टको छलाङः एक वर्षमै १० अर्ब २५ करोडको कारोबार, १ अर्ब १० करोड नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यावसायिक प्रदर्शनमा उल्लेखनीय सुधार गर्दै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार, सिमेन्टको बिक्री आम्दानी र खुद नाफा दुवैमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य प्रगति देखिएको हो।
कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने सिमेन्ट बिक्रीबाट हुने आम्दानी गत आर्थिक वर्षमा ७.५६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत असार मसान्तसम्म आइपुग्दा १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको यस वृद्धिसँगै कम्पनीको कुल नाफामा पनि १५.६२ प्रतिशतको सुधार देखिएको छ। अघिल्लो वर्ष २ अर्ब ९५ लाख रुपैयाँ रहेको कुल नाफा यस वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
यद्यपि व्यवसाय विस्तारसँगै कम्पनीको खर्च पनि बढेको छ। कम्पनीको कुल खर्च अघिल्लो वर्षको तुलनामा ३४.४४ प्रतिशतले बढेर १ अर्ब १५ करोड ६३ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ८६ करोड १ लाख रुपैयाँ मात्र थियो। खर्चमा भएको यो वृद्धिले सञ्चालन मुनाफामा केही दबाब सिर्जना गरे पनि कम्पनीले आफ्नो खुद नाफालाई ७.७० प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको सर्वोत्तम सिमेन्टले यस वर्ष १ अर्ब १० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ।
कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले वृद्धि भई ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि अघिल्लो वर्ष २०.६७ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २१.२० रुपैयाँ पुगेको छ। तर प्रतिशेयर नेटवर्थमा भने सामान्य गिरावट देखिएको छ। अघिल्लो वर्ष २०२ रुपैयाँ रहेको नेटवर्थ यस वर्ष १९९.८२ रुपैयाँ कायम भएको छ।











