सानिमा माई हाइड्रोपावरको नाफामा साढे ८ प्रतिशत गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?

२८ श्रावण २०८३, बिहीबार १०:०२

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा केही संकुचन देखिएको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ३२ करोड ४ लाख रुपैयाँको तुलनामा ८.४२ प्रतिशतले कम हो। प्राकृतिक विपत्ति र त्यसले उत्पादनमा पारेको असरका कारण नाफा घट्न पुगेको हो।

कम्पनीको आम्दानीको मुख्य स्रोत अर्थात् विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा विद्युत बिक्रीबाट ६८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड २७ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ।

२०८२ साल असोज १८ गते आएको भारी वर्षा र बाढीपहिरोका कारण माई हाइड्रोपावर (२२ मेगावाट) र माई क्यासकेड (७ मेगावाट) को हेडवक्र्स क्षेत्रमा क्षति पुग्दा उत्पादन बन्द गर्नुपरेको थियो। लामो समयको मर्मत सम्भारपछि २०८२ फागुन १० गतेदेखि मात्र आयोजनाहरू पुनः सञ्चालनमा आएकाले विद्युत बिक्रीमा ठूलो असर परेको व्यवस्थापनले जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ। अघिल्लो वर्ष ८.५७ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ७.८५ रुपैयाँमा सीमित भएको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ पनि १७२.९७ रुपैयाँबाट घटेर १३७.५० रुपैयाँ कायम भएको छ।

सानिमा माईको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ यथावत रहेको छ भने जगेडा कोष (रिटेन्ड अर्निङ) मा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको जगेडा कोष बढेर १ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। खुद सञ्चालन मुनाफा अघिल्लो वर्ष ४० करोड ५० लाख रहेकोमा गत वर्ष घटेर २० करोड ८ लाख रुपैयाँमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*