१४ महिनादेखि तलबविहीन कर्मचारी, बन्द हुने संघारमा हेटौँडा सिमेन्ट

२८ श्रावण २०८३, बिहीबार १०:३६

काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिब तीन वर्षदेखि नियमित सञ्चालन हुन नसक्दा कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन्। चालु पुँजी अभावमा उद्योग पूर्ण रूपमा ठप्प भएपछि कर्मचारीको तलबसँगै सञ्चयकोष, बीमा, नागरिक लगानी कोष र अवकाशप्राप्त कर्मचारीको उपदानसमेत रोकिएको छ।

हेटौँडा उपमहानगरपालिका–९ लामसुरेमा रहेको उद्योगले कच्चा पदार्थ खरिद गर्न नसक्दा उत्पादन बन्द भएको हो। उद्योग व्यवस्थापनका अनुसार कोइला र जिप्सन ढुङ्गा खरिदका लागि आवश्यक रकम नभएपछि आपूर्तिकर्ताले समेत कच्चा पदार्थ दिन छाडेका छन्। यसअघि खरिद गरिएको कच्चा पदार्थको भुक्तानीसमेत हुन नसक्दा उद्योगको दायित्व थपिँदै गएको छ।

उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठले चालु पुँजीको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताएका छन्। उद्योगसँग नियमित खर्च धान्ने आफ्नै स्रोत नभएको र कच्चा पदार्थ खरिदका लागि सरकारसँग कर्जा सुविधाको माग गरिए पनि ठोस निर्णय हुन नसकेको उनको भनाइ छ।

उद्योगमा कार्यरत ४२ वर्षीय कुमदेश झा २०७१ सालमा लोकसेवामार्फत पाँचौँ तहमा नियुक्त भएका थिए। सरकारी स्वामित्वको उद्योगमा स्थायी जागिर पाएपछि सुरक्षित भविष्यको अपेक्षा गरेका झा अहिले १४ महिनादेखि तलब नपाउँदा पारिवारिक खर्च व्यवस्थापन गर्न कठिन अवस्थामा छन्। बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दबाबसमेत उनीमाथि छ।

उद्योगका अर्का कर्मचारी ४२ वर्षीय दिपेन्द्रकुमार ठाकुरको अवस्था पनि उस्तै छ। दुई सन्तानका पिता ठाकुरले तलब नपाउँदा छोराछोरीको विद्यालय शुल्कसमेत तिर्न नसकेको बताएका छन्। कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय, कर्मचारी व्यवस्थापन शाखा तथा सम्बन्धित निकायमा पटक–पटक समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल हुन सकेको छैन।

उद्योगको दायित्व झण्डै करोडौँ रुपैयाँ पुगेको छ। उपलब्ध विवरणअनुसार स्थायी कर्मचारीको तलबबापत मात्रै १२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। दक्ष तथा अदक्ष सप्लाई लेबरतर्फ १ करोड ५३ लाख २ हजार १५ रुपैयाँ, सुरक्षा सेवातर्फ १ करोड ८४ लाख २५ हजार रुपैयाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७ सय २० रुपैयाँ बक्यौता रहेको छ।

चालु आर्थिक वर्षको सामूहिक सावधिक जीवन बीमाबापत १ करोड ८६ लाख रुपैयाँ, सञ्चयकोष कट्टी दायित्व १ करोड ७२ लाख ९३ हजार रुपैयाँ र नागरिक लगानी कोषतर्फ ३७ लाख ५३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। अवकाशप्राप्त कर्मचारीको उपदान दायित्व ४ करोड ९० लाख रुपैयाँ र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपैयाँ पुगेको उद्योगको विवरणमा उल्लेख छ।

उद्योगमा उमेर हदका कारण अवकाश पाएका ६५ भन्दा बढी कर्मचारीले समेत उपदान पाउन सकेका छैनन्। लामो समय सेवा गरेका कर्मचारीहरू उपदानका लागि समेत सम्बन्धित सरकारी निकायमा धाउनुपर्ने अवस्थामा पुगेका छन्।

कच्चा पदार्थ आपूर्ति गर्ने व्यवसायीलाई समेत उद्योगले ठूलो रकम भुक्तानी गर्न बाँकी छ। व्यवस्थापनका अनुसार एउटै आपूर्तिकर्तालाई करिब १२ देखि १३ करोड रुपैयाँ तिर्न बाँकी छ। पुरानो दायित्व भुक्तानी हुन नसकेपछि आपूर्तिकर्ताले नयाँ कच्चा पदार्थ दिन छाडेका हुन्।

हेटौँडा सिमेन्ट उद्योग पछिल्ला वर्षमा निरन्तर घाटामा छ। २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसपछि भने उद्योग निरन्तर घाटामा गएको हो।

आर्थिक वर्ष २०६६/६७ र २०६७/६८ मा नाफामा रहेको उद्योग २०६८/६९ देखि २०७०/७१ सम्म घाटामा गएको थियो। त्यसपछि २०७१/७२ देखि २०७४/७५ सम्म लगातार चार वर्ष नाफा कमाए पनि त्यसयता उद्योगले नाफा कायम गर्न सकेको छैन।

निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु, कच्चा पदार्थको मूल्य निरन्तर बढ्नु र उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्थालाई उद्योगको आर्थिक संकटका प्रमुख कारण मानिएको छ। पुरानो मेसिनरी, भौतिक संरचनाको कमजोर अवस्था र पर्याप्त चालु पुँजीको अभावले समस्या थप जटिल बनाएको छ।

उद्योगलाई आर्थिक संकटबाट बाहिर निकाल्न व्यवस्थापनले उपयोगविहीन सरकारी जग्गा बिक्री गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादन क्षमता बढाउने योजना अघि सारेको छ। हेटौँडा–९ लामसुरे क्षेत्रमा उद्योगको करिब १२ बिघा उपयोगविहीन जग्गा रहेको छ। तर, उक्त जग्गा बिक्रीका लागि उद्योग मन्त्रालयबाट हालसम्म अनुमति प्राप्त भएको छैन।

नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगमा ६५५ कर्मचारीको दरबन्दी थियो। अहिले १२० जना मात्रै कार्यरत छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*