पाल्पा सिमेन्टको मुनाफामा भारी गिरावट, अधिकांश सूचक खुम्चियो

२९ श्रावण २०८३, शुक्रबार १०:०३

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै कम्पनीको नाफा ५९ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीसमेत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा घटेर ७७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ ।

यता कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० लाख ५३ हजार रुपैयाँ रहेको अन्य आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा बढेर १ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय खर्चमा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड ८४ लाख रुपैयाँ रहेको वित्तीय खर्च गत आर्थिक वर्षमा घटेर ३८ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । वित्तीय खर्च घटे पनि सञ्चालन आम्दानीमा आएको ठूलो गिरावटका कारण कम्पनीको खुद नाफा भने बढ्न सकेन ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १५ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७५ रुपैयाँ ७ पैसा र तरलता अनुपात ३ दशमलव १९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*