घोराही सिमेन्टको संकट कायमै: नाफा ३० करोड ऋणात्मक, अधिकांश सूचक धरापमा

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको मुनाफा ऋणात्मक रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा घटेर ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानी घटे पनि बिक्री लागतमा कमी आउँदा कम्पनीको कुल नाफा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत आर्थिक वर्षमा बढेर १ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति २१३ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति २२६ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल पुँजी ८३ अर्ब २६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ६ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ९३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२५ रुपैयाँ ६७ पैसा र तरलता अनुपात शून्य दशमलव ६५७ रहेको छ ।











