प्रेसमाथिको हमलाले बालेन सरकारका मन्त्रीमाथि कानुनको खतरा बढ्दै, त्रिपाठी भन्छन् अब जोखिम बढ्यो

२९ श्रावण २०८३, शुक्रबार १६:०३

काठमाडौं । शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान बालेन सरकारमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीहरुमाथि अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभिनु पर्ने जोखिम बढेको बताउँदै सचेत हुन आग्रह गरेका छन् । सरकारले प्रेसमाथि चरम हस्तक्षेप गरेको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको बिषय गम्भिर मानव अधिकार उल्लंघन समेत भएको उनले दावी गरे । उनले भने, ‘मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको आर्टिकल १९, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रमा उल्लेख गरिएका व्यवस्थाहरुले सरकारी पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता गम्भिर खतरामा पर्ने गरी दमन गरिएका छन् । यो अन्तर्राष्ट्रिय कानुन आकर्षण हुने बिषय हो ।’

मावन अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र तथा अन्य नेपाल पक्षराष्ट्र भएका अन्य महासन्धी, सन्धी तथा अभिसन्धीहरुको गम्भिर उल्लंघनमा सरकार सुरुदेखि नै लागिपरेकोले अबका दिनमा उनीहरुलाई अन्तर्राष्ट्रिय कानुनले कुनै पनि अप्ठेरोमा पार्नसक्ने भन्दै सचेत हुन चेतावनी दिएका छन् ।

त्रिपाठीले सुकुम्बासी बस्तीहरुमा सुत्केरी महिला, बृद्धबृद्धा, बालबालिकामाथि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर दमन गरिएको बताए । ‘सरकारले धेरै अन्तर्राष्ट्रिय कानुनहरुको उल्लंघन गरिसकेको छ । यस्तो कार्यमा संलग्न जिम्मेवार मानिसहरु कुनै पनि बेला अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्न सक्छन् । हामीले अन्तर्राष्ट्रिय निकायहरुलाई अपिल समेत गर्नुपर्दछ’, त्रिपाठीले अन्तरक्रिया कार्यक्रममा भने । अहिलेको सरकारले ज्ञानेन्द्र शाहलाई समेत माथ गरेर प्रेसमाथि आक्रमण गरेको आरोप लगाउँदै त्रिपाठीले आगामी दिनमा नेपाली प्रेसले अझै अप्ठेरो अवस्था भोग्नुपर्ने भन्दै सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले पत्रकारमाथि राज्यले गैर कानुनी बाटो प्रयोग गरी धरपकड गरेको भन्दै तत्काल रिहा गर्न माग गरे । अध्यक्ष पाण्डेले भने, ‘कुनै पनि पत्रकारलाई कसैप्रति चित्त नबुझ्न सक्छन्, समाचार प्रति चित्त बुझेन भने प्रेस काउन्सिलमा उजुरी दिन जानुपर्दछ ।’ सरकारले प्रतिशोध साँधेर पत्रकार किशोर श्रेष्ठमाथि पक्राउ र धरपडक गरेको अध्यक्ष पाण्डेले आरोप लगाए ।

कार्यक्रममा प्रेस युनियनका महासचिव दिलिप पौडेलले सरकारले पत्रकारलाई पक्राउ गरेर प्रेसलाई तर्साउन खोजेको आरोप लगाउँदै तत्काल सच्चिन आग्रह गरे । सरकारले प्रेसलाई साथमा लिएर तथा सहकार्य गरेर देशका बेथितीहरुका विरुद्धका कामकारवाहीहरु प्रभावकारी बनाउनुपर्नेमा प्रेसलाई दूश्मनको जस्तै व्यवहार गरेको आरोप लगाए । “किशोर श्रेष्ठलाई गैरकानुनीरुपमा भएको गिरफ्तारीलाई संसद हुँदै अन्तराष्ट्रियकरण गर्न जरुरी छ” पौडेलले भने । महासचिव पौडेलले प्रेसलाई तर्साउन खोजेको भए नेपाली पत्रकारहरुले दृढतापूर्वक सामना गर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले सरकारले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरी मोबाइल, कम्प्युटरहरु नियन्त्रणमा लिएर समाचारको स्रोतको खोजि गर्ने कार्य गरिरहेको आरोप लगाउँदै पत्रकारहरुको नैसर्गिक अधिकारको रक्षा गर्न आग्रह गरे । अध्यक्ष गिरीले पत्रकार भनेको प्रश्न गर्ने पेशा भएकोले नागरिकको प्रश्न बन्द गरेर सरकार प्रतिपक्ष विहिन अवस्थामा पुग्न चाहेको आरोप लगाए । प्रश्न सोध्ने पत्रकारको नैसर्गिक अधिकार भएको तथ्य स्वीकार गर्न सरकारलाई चेतावनी दिए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*