नाइमा एक्स्पोमा तहल्का मच्चाएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। उत्साहजनक बुकिङ प्राप्त गरेसँगै सीजी मोटर्सले नेपालभर रहेका आफ्ना शोरुमबाट पञ्च ईभीको डेलिभरी सुरु गरेको हो। नयाँ पञ्च ईभी हालै देशभरका शोरुममा एकैसाथ सार्वजनिक गरिएको थियो।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यद्यपि, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। एक्स्पोमा पञ्च ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।
अत्याधुनिक ‘एक्टिभ.ईभी’ प्लेटफर्ममा आधारित पञ्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यी ब्याट्री विकल्पले एकपटकको पूर्ण चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
नयाँ पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्ससँगै BNCAP ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १.५C DC फास्ट चार्जिङ सुविधा दिइएको छ। त्यस्तै, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा पनि पञ्च ईभीमा समावेश छन्।











