मन्त्री लम्साललाई सामान्य रुघा लाग्दा सेनाको हेलिकोप्टरबाट उद्धार, जनता मर्न लाग्दा खोई उद्धार ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको विषयप्रति प्रश्न उठाउँदै मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा देश दौडाहमा ननिस्कन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गेलालले मन्त्रीहरूलाई देश घुम्ने रहर बढी भएको हो कि समस्या समाधान गर्ने हुटहुटी भन्ने प्रश्न गरे । उनले मन्त्रीहरू जिल्ला–जिल्लामा पुगेर भिडियो बनाउने र प्रचार गर्नेभन्दा मन्त्रालयमै बसेर नीति निर्माण, निर्णय र प्रशासनिक काममा ध्यान दिनुपर्ने बताए ।
‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ?’ उनले भने, ‘बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’
उनले मन्त्रीहरूलाई जनताको वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्नसमेत आग्रह गरे । अहिले जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाका लागि संघर्ष गरिरहेको भन्दै मन्त्रीहरूको भ्रमण र प्रचारभन्दा जनताको समस्या समाधान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
मन्त्रीलाई सामान्य स्वास्थ्य समस्या हुँदा राज्यले तत्कालै सेनाको हेलिकोप्टर उपलब्ध गराउने तर सर्वसाधारण नागरिक गम्भीर अवस्थामा पुग्दा अस्पतालसम्म पुग्ने साधनसमेत नपाउने अवस्थाप्रति उनले कडा प्रश्न उठाए ।
‘आज जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत्, आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्,’ उनले भने, ‘तर मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ । जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन् ।’
भौतिक पूर्वाधारमन्त्री लम्साल सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग तथा पूर्वाधारको अवस्था निरीक्षण गर्न पुगेका बेला अस्वस्थ भएका थिए । शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा निरीक्षणमा रहेको उनको टोली दार्चुलाबाट बैतडी पुगेको थियो । शनिबार अबेर साँझ लम्साल आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए ।
बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको थियो । त्यसपछि धनगढीबाट सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको थियो । उपचारपछि उनी हाल डिस्चार्ज भइसकेका छन् ।
यही घटनालाई संकेत गर्दै सांसद गेलालले मन्त्रीहरूको जिल्ला भ्रमण र कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । उनले मन्त्रीहरू जिल्ला पुगेर भिडियो बनाउँदै सार्वजनिक गर्दैमा जनताले राहत महसुस नगर्ने बताए ।
‘मन्त्रीज्यूहरू, तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन् । जनताको घर–घरमा मन्त्री पुग्ने होइन । सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ,’ उनले भने ।
गेलालले देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले सरकारलाई दिन सक्ने बताए । त्यसका लागि ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको ढुकुटी खर्च गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।











