विशेष अदालतद्वारा बीमा प्राधिकरणका पूर्व अध्यक्ष दाहालसँग १५ लाख धरौटी माग

काठमाडौं । अर्थमन्त्रालयका सह सचिव तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष मदन दाहालसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । हिजो अदालतमा उपस्थित भएका दाहालको निवेदनमाथि भएको थुनछेक बहस पछि धरौटीमा रिहा गरी तारखेमा बसेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै उनी हिजै रिहा भएका छन् ।
सिआईबीले गरेको अनुसन्धानको क्रममा नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद बिक्रीमा नियामकीय नेतृत्वले आफ्नो अधिकार प्रयोग गर्न चुकेको छ आरोपमा सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा अभियुक्त बनाइएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत जेठ २८ मा दर्ता भएको ०८२ सिआर ०१५४ को मुद्दामा दाहाललाई फरार अभियुक्त बनाएर अभियोगपत्र दायर गरिएको थियो । मुद्दा दायर भए लगत्तै निलम्वित बनेका दाहाल हिजो आफै उपस्थित भएका हुन् ।











