एचआईडीसीएलको नाफामा २७ प्रतिशत गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा ठूला आयोजनाहरूको वित्तीय व्यवस्थापन गर्ने उद्देश्यले स्थापित सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले गत आवको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा २७.२९ प्रतिशतको गिरावट आएको हो।
समीक्षा अवधिमा कम्पनीले ६७ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ। यो तथ्यांक अघिल्लो आवको सोही अवधिको ९३ करोड ४३ लाख ३२ हजार रुपैयाँको तुलनामा निकै कम हो। कम्पनीको आम्दानी घटेका कारण नै नाफामा दबाब परेको हो।
अघिल्लो वर्ष १ अर्ब ४६ करोड ३० लाख रुपैयाँ कुल राजस्व संकलन गरेको कम्पनीले गत वर्ष जम्मा १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको निक्षेपबाट प्राप्त हुने वित्तीय आम्दानी १ अर्ब ३९ करोड ५० लाख रुपैयाँबाट घटेर ९९ करोड १० लाख रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्ता पूँजीमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ रहेको पूँजी हाल २४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यद्यपि पूँजी वृद्धिसँगै जगेडा कोषमा भने केही क्षयीकरण भएको देखिन्छ। अघिल्लो वर्ष ३ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर ३ अर्ब १५ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ।
नाफाको ग्राफ तल झरेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ। अघिल्लो वर्ष प्रतिशेयर ३.८० रुपैयाँ रहेको आम्दानी हाल २.७३ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ पनि ११४.१३ रुपैयाँबाट सामान्य घटेर ११२.६५ रुपैयाँ कायम भएको छ।
नाफा घटे पनि कम्पनीले जलविद्युत आयोजनाहरूमा गर्ने लगानी र कर्जा प्रवाहलाई भने विस्तार गरेको छ। अघिल्लो वर्ष ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ मात्र रहेको लोन टु पावर प्रोजेक्ट शीर्षकको कर्जा प्रवाह गत वर्षको असार मसान्तसम्म आइपुग्दा ८ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ। यसैगरी इक्विटी (शेयर) लगानी पनि ४ अर्ब २३ करोड २३ लाखबाट बढेर ४ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ पुगेको छ।











