आइएमई लाइफको नवौं वार्षिकोत्सव सम्पन्न, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन

२ भाद्र २०८३, मंगलवार ०८:३०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हर्षोल्लासपूर्वक वार्षिकोत्सव मनाएको छ ।  स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ ।

नौ वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण लगायत बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नवौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूको उद्देश्य समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्नु रहेको बताए ।

साथै उनले रक्तदान कार्यक्रमले अस्पतालहरूमा हुने रगतको अभाव कम गर्न सघाउने र वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान पुर्‍याउने कम्पनीको विश्वास रहेको भन्दै खाद्यान्न वितरण कार्यक्रम आर्थिक रूपले विपन्न परिवारहरूलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको बताए ।

वार्षिकोत्सवको यसै सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय अविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर, एनआईसी) सँग सम्झौता गरेको छ । कार्यक्रमको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यस सम्झौताले दुवै संस्थाबीचको दीर्घकालीन साझेदारीको जग बसाल्नुका साथै नवजात शिशु स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत रूप दिएको बताए ।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान गरी उत्पादन गरेको न्यानो नानी (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिने जनाइएको छ । “न्यानो नानी” समय नपुगी जन्मने वा कम तौल भएर जन्मने नवजात शिशुहरूलाई आवश्यक तापक्रम उपलब्ध गराई तिनको ज्यान जोगाउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो जुन विशेष गरी दुर्गम तथा स्वास्थ्य सुविधाबाट टाढा रहेका क्षेत्रहरूमा अत्यन्त उपयोगी सावित भएको छ ।

यस सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय अविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूलाई दश थान न्यानो नानी उपकरण हस्तान्तरण गर्दैछ । भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र न्यून पहुँचका कारण यी दुई प्रदेशका दुर्गम क्षेत्रमा जन्मने नवजात शिशुहरूले वर्षौंदेखि भोगिरहेको स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने आशयका साथ कम्पनीले यो पहल थालेको हो । कम्पनीका अनुसार यी उपकरणहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्था र उपयुक्त स्थानहरूमा जडान गरिनेछ जसले गर्दा ती क्षेत्रका नवजात शिशुहरूको मृत्युदर घटाउन र आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको र कम्पनीले यसअघि पनि विभिन्न सामाजिक, स्वास्थ्य र शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको र आगामी दिनमा न्यानो नानी कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लाहरूमा समेत क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*