आम्दानीमा गिरावट आएपछि पिपुल्स पावर घाटामा, अन्य वित्तीय सूचक कस्ता?

२ भाद्र २०८३, मंगलवार ०८:४७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विगतका वर्षहरूमा सामान्य नाफामा देखिएको यो कम्पनीले समीक्षा अवधिमा भने नोक्सानी बेहोर्नुपरेको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानीमा केही संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षमा ९ करोड ६३ लाख ३५ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष ८ करोड ९८ लाख ९० हजार रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ।

आम्दानीमा आएको यो गिरावट र बढ्दो प्रशासनिक खर्चका कारण अघिल्लो वर्ष ३३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी यसपालि २ करोड १७ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा धकेलिएको छ। आम्दानी घट्नुमा नदीमा पानीको बहावमा आउने कमी जस्ता प्राकृतिक कारणहरूले विद्युत उत्पादनमा पारेको प्रभावलाई कम्पनीले जनाएको छ।

५० प्रतिशत हकप्रद शेयर जारी गरेका कारण कम्पनीको चुक्ता पुँजीमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष ६३ करोड २६ लाख रुपैयाँ रहेको चुक्ता पुँजी समीक्षा अवधिमा ९४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। पुँजी वृद्धिसँगै जगेडा कोष भने केही दबाबमा परेको छ। अघिल्लो वर्ष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको जगेडा कोष यस वर्ष ४ करोड ९ लाख ३१ हजार रुपैयाँले ऋणात्मक हुन पुगेको छ।

नाफामा आएको ह्रासले गर्दा प्रतिशेयर आम्दानी पनि २.२९ रुपैयाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १०२.५९ रुपैयाँ कायम भएको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३० करोड ५९ लाख ६४ हजार रुपैयाँ दीर्घकालीन ऋण रहेकोमा कम्पनीले हकप्रदबाट उठेको रकमले त्यसलाई पूर्ण रूपमा चुक्ता गरेर शून्यमा झारेको छ। शेयर प्रिमियम बापत पनि कम्पनीसँग ६ करोड ५४ लाख ७६ हजार रुपैयाँ सञ्चित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*