स्वास्थ्य बीमा सहज नहुँदा नागरिक मर्कामा, सुधार गर्न सांसद न्यौपानेको आग्रह

२ भाद्र २०८३, मंगलवार १४:४३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै विरोध जनाएकी छन् । संवेदनशील स्वास्थ्य संस्था नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा आमा तथा नवजात शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटोसमेत ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको बताइन् । उचित सूचना तथा पारदर्शी प्रक्रियाबिना निर्माण अघि बढाइएको भन्दै उनले स्थानीयवासीसमेत विरोधमा रहेको जानकारी गराइन् ।

‘मेरो क्षेत्र काठमाडौं–१ को थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको छ । कुनै सूचना वा जानकारी नदिई बाटोसमेत ढाकेर निर्माण गर्न लागिएकोप्रति स्थानीयवासीको विरोध छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

यसै क्रममा सांसद न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारणले सहज स्वास्थ्य सेवा पाउन नसकेको विषय पनि सदनमा उठाइन् । स्वास्थ्य बीमामार्फत पाइने सुविधा लिन नागरिकले झन्झट व्यहोर्नुपरेको र कार्यक्रम प्रभावकारी नहुँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले स्वास्थ्य बीमा प्रणालीलाई तत्काल सुधार गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् ।

उनले स्वास्थ्य बीमाको सुविधा सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाएर नागरिकलाई उपचारमा राहत दिनुपर्ने बताइन् । स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा बीमितले भोग्दै आएका समस्या समाधान गरी कार्यक्रमप्रति नागरिकको विश्वास कायम गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्यासमेत उठाइन् । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सम्बन्धमा पीडितले हालसम्म न सुन फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको उनले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*