धार्मिक पर्यटन विस्तार गरे गाउँमै रोजगारी, वैदेशिक रोजगारीको बाध्यता घट्छ : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय पूर्वाधार विकास गर्न सके गाउँठाउँमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता कम गर्न सकिने बताएका छन्।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई सम्बोधन गर्दै ढकालले बाइसे–चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको ठूलो सम्भावना रहेको बताए। उनले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि त्यहाँ पुग्ने भारतीय तथा अन्य विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उल्लेख गर्दै ढकालले मुक्तिनाथ पुग्ने पर्यटकको केही प्रतिशतलाई मात्रै बागलुङका भैरवस्थानलगायत पर्यटकीय गन्तव्यमा आकर्षित गर्न सके स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए।
उनका अनुसार पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट र होमस्टे विस्तार गर्न आवश्यक छ। केबलकारलगायत पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।
ढकालले नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ सञ्चालनमा ल्याइएको जानकारी दिए। महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार स्थापना गरिएको उक्त कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिका क्षेत्रमा लगानी अघि बढाउन काम सुरु गरिसकेको उनले बताए।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।









